बुटवल । लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानको सम्भावना बढेपछि पाल्पा प्रशासनले सिद्धार्थ राजमार्गको दोभान–सिद्धबाबा खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार असोज ८ गतेदेखि १२ गतेसम्म पाँच दिन उक्त सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन चलाउन पाइने छैन।
मौसम विज्ञान विभागले आगामी दिनमा अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सडकमा यात्रा गर्ने यात्रु तथा चालकको सुरक्षालाई मध्यनजर गर्दै रातिको समयमा आवागमन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
सम्भावित विपद् तथा सडक दुर्घटनाको जोखिम कम गर्न प्रशासनले यात्रु र चालकलाई तोकिएको समयअनुसार यात्रा व्यवस्थापन गर्न तथा सुरक्षित रहन आग्रह गरेको छ।
आपत्कालीन अवस्था आइपरेमा नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।




प्रतिक्रिया