गगनको नेतृत्वमा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने एजेन्डा अघि सार्दै निर्मला

निर्मला क्षेत्री

अर्घाखाँची, असोज ८ । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला महिला) पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा उम्मेदवारी घोषणा गर्दै क्षेत्रीले महिला नेतृत्वको सशक्त उपस्थिति, पार्टी संगठनको सुदृढीकरण, सुशासन, लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण र नयाँ पुस्ताको नेतृत्व विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताइन् ।

उनले कांग्रेसलाई समयअनुकूल र प्रभावकारी बनाउन अनुभवी नेतृत्वको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच समन्वय आवश्यक रहेको बताइन् ।

महिलाको सहभागिता संख्या पूरा गर्नका लागि मात्रै नभई पार्टीको नीति निर्माण र निर्णय गर्ने तहमा प्रभावकारी उपस्थिति हुनुपर्नेमा उनले जोड दिइन् ।

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी क्षेत्री लामो समयदेखि कांग्रेसको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी हुन् । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागकी केन्द्रीय सचिवसमेत रहेकी क्षेत्री नेपाल महिला संघकी पूर्व केन्द्रीय प्रवक्तासमेत हुन् । महिला अधिकार, समानता र राजनीतिक सहभागिताका विषयमा आफूले लामो समयदेखि सार्वजनिक बहस गर्दै आएको उनले बताइन्।

२०५४ सालदेखि राष्ट्रिय दैनिकलगायत विभिन्न सञ्चारमाध्यममार्फत महिला अधिकार, समानता र सहभागिताका विषयमा विचार तथा लेखहरू सम्प्रेषण गर्दै आएको थिइन् ।

२०७० सालमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारसमेत रहनुभएकी क्षेत्रीले आफ्नो राजनीतिक तथा संसदीय अनुभवलाई पार्टी संगठनको हितमा प्रयोग गर्ने बताइन् ।

क्षेत्रीले १४औँ महाधिवेशनमा अर्घाखाँचीबाट आफूलाई अत्यधिक मत दिएर विश्वास गरेकोमा पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गरिन् । १५औँ महाधिवेशनमा पनि त्यस्तै माया, साथ र विश्वास प्राप्त हुने अपेक्षा व्यक्त गर्दै सहयोगका लागि आग्रह गरिन् ।

अर्घाखाँचीमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज १० गते हुँदैछ।

क्षेत्रीले कांग्रेसलाई एकताबद्ध, समावेशी र जनतासँग थप नजिक जोडिएको संगठनका रूपमा अघि बढाउनुपर्ने बताइन् । नयाँ पुस्ताको नेतृत्व विकास, संगठनात्मक रूपान्तरण र लोकतान्त्रिक मूल्यको संरक्षणलाई कांग्रेसको आगामी यात्रासँग जोडेर अघि बढाउनुपर्ने उनकाे धारणा छ ।