सङ्खुवासभा। उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्डको भोटखोला गाउँपालिका-३ हुङहुङमा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो ।
उत्तर-दक्षिण सडक आयोजना कार्यालयका प्रमुख एवं इन्जिनियर रामबहादुर गुरुङले पहिरोका कारण सडकमा सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको बताउँदै सडक खुलाउने प्रयासका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए। निरन्तरको वर्षाका कारण तत्काल पहिरो पन्छाउन कठिनाइ भइरहेको उनको भनाइ छ।
हुङहुङमा पहिरो खसेपछि आज बिहानदेखि भोटखोलाबाट मकालु आउने जाने यातायात सेवा अवरुद्ध भएका छन्। माथिल्लो क्षेत्रमा भारी बर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको सडक कार्यालयले जनाएको छ ।
ठाउँठाउँमा ठुलो पहिरो गएकाले अहिले सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नभएको सडक इन्जिनियर गुरुङले बताए। पहिरो खसेपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी, मकालु चिचिला आउने सवारीसाधन वारपार हुन सकेका छैनन्। रासस




प्रतिक्रिया