राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायुजन्य विपद्को सामना गर्न नेपाल, भारत र चीनको संयुक्त नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिम न्यूनीकरणका लागि तीन देशबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

उनले करिब २ अर्ब मानिसको जीवनसँग जोडिएको हिमालय क्षेत्र पृथ्वीको महत्वपूर्ण जीवनरक्षक प्रणालीसमेत भएकाले यसको संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

प्रस्तावित संयन्त्रमार्फत भूउपग्रहबाट प्राप्त तथ्यांक आदानप्रदान, जोखिमयुक्त हिमतालको संयुक्त अनुगमन तथा पूर्वचेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

विपद्का समयमा सीमापार समन्वयलाई प्राथमिकता दिँदै हिमालय क्षेत्रलाई सूचनाको खण्डित सीमाका रूपमा नभई अन्तर्राष्ट्रिय सहकार्य र अनुभव आदानप्रदानको प्रयोगशाला बनाउनुपर्ने प्रधानमन्त्री शाहको भनाइ थियो।