बाढीपहिरोको वितण्डा : देशभर १४ सडकखण्ड अवरुद्ध


काठमाडौँ । अविरल वर्षापछि आएकाे बाढी र पहिरोकाे कारण देशका विभिन्न क्षेत्रमा १४ वटा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाले शुक्रबार बिहान १० बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी, बागमती र लुम्बिनी प्रदेशमा सडक अवरुद्ध रहेको जनाएको हो।

सबैभन्दा बढी सडक बागमती प्रदेशमा १० वटा सडकखण्डमा यातायात अवरुद्ध छ।

रसुवामा बाढीका कारण पासाङल्हामु राजमार्गअन्तर्गत बारा घुम्ती–रसुवागढी सडक, त्रिशूली–बेत्रावती हुँदै रसुवागढी जाने सडक तथा मैलुङ–स्याफ्रुबेंसी सडक अवरुद्ध छन्। धादिङको गजुरी–२ फुर्केखोलामा पनि कालुपाण्डे राजमार्ग बन्द रहेको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटरोराङ–७ कृष्णभीर र तिङराङखानीमा पहिरो खसेको छ। चितवनको इच्छाकामना–४ धारापानीमा सडक भासिएपछि आवागमन रोकिएको छ।

त्यस्तै, कान्तिलोकपथअन्तर्गत ललितपुरका गोदावरी–६ बिर्खेधारा तथा बागमती–३ का पाङदुरडोल र टाकुर्चेमा पहिरो गएको छ। मकवानपुरको भीमफेदी–८ खहरे खोल्सामा लेदो आएपछि सडक अवरुद्ध भएको छ। काभ्रेको रोशी–७ चारसयवेशी र रोशी–८ गिम्दीवेशीमा पहिरो खस्दा बीपी राजमार्गसमेत बन्द रहेको मन्त्रालयले जनाएको छ।

कोशी प्रदेशमा दुई सडकखण्ड प्रभावित छन्। ओखलढुंगाको मानेभञ्ज्याङ–६ भँडारे खोलामा बाढी आएपछि सिद्धिचरण लोकमार्ग बन्द भएको छ भने सुनसरीको बराहक्षेत्र–१ गुप्तबराहमा पहिरोका कारण चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको छ।

यस्तै, लुम्बिनी प्रदेशमा दुई सडकखण्ड अवरुद्ध छन्। गुल्मीको कालिगण्डकी गाउँपालिका–२ रावसे र वडा नम्बर ४ पातिखोलामा पहिरो खसेपछि कालिगण्डकी करिडोर बन्द भएको छ। रोल्पाको माडी–२ ब्याङखोलामा पहिरो गएपछि घोराही–थवाङ सहिदमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको मन्त्रालयले जनाएको छ।