देशभर बाढीको त्रास : आज र भोलि कुन जिल्लामा कस्तो छ जोखिम?


काठमाडौँ । देशका प्रमुख नदी तथा स-साना खोलामा पानीको बहाव बढ्ने क्रमसँगै विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले आज र भोलि विभिन्न नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै जोखिमयुक्त जिल्ला छुट्याएर सतर्कता अपनाउन आग्रह गरेको छ।

आज उच्च जोखिममा रहेका जिल्ला

गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

आज मध्यम जोखिममा रहेका जिल्ला

पूर्वको ताप्लेजुङदेखि पश्चिमको बैतडीसम्मका विभिन्न जिल्लामा बहने स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

भोलि उच्च जोखिम थपिने जिल्ला

महाशाखाका अनुसार भोलि असोज १० गते नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका नदीमा बाढीको उच्च जोखिम रहनेछ।

यसैबीच कोशी, नारायणी, बागमती, कन्काई र कमलालगायत प्रमुख नदी तथा तिनका सहायक नदीमा जलसतह सतर्कता तह नजिक पुगेको महाशाखाले जनाएको छ।

असोज ११ गते पनि सातै प्रदेशका केही स-साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।