न्युयोर्क । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा भइरहेको आफ्नो देशको सैन्य अभियानको बचाउ गरेका छन्।
सम्बोधनका लागि उनी मञ्चमा उक्लनासाथ दर्जनौँ प्रतिनिधिहरूले विरोधस्वरूप सभाकक्ष छाडेर बाहिरिएका थिए। वाकआउटका बिच पनि नेतान्याहुले लडाइँ जारी राख्ने दृढता व्यक्त गर्दै भने, ‘हामी जित्नेछौँ, हामीसँग अर्को कुनै विकल्प छैन।’
विरोध गर्नेहरूप्रति टिप्पणी गर्दै उनले भने, ‘यदि यहाँ अरू कुनै नैतिक कायरहरू बाँकी हुनुहुन्छ भने कृपया अहिल्यै बाहिर जानुहोस्।’ सम्बोधनका क्रममा उनले गाजामा इजरायलले नरसंहार गरिरहेको भन्ने आरोप पूर्ण रूपमा अस्वीकार गरे।
नेतान्याहुको सम्बोधनभन्दा केही घण्टाअघि प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले पूर्व-रेकर्ड गरिएको भिडियो सन्देशमार्फत राष्ट्रसङ्घलाई सम्बोधन गरेका थिए। अमेरिकी भिसा नपाएपछि भिडियो सन्देश पठाउन बाध्य भएका अब्बासले पश्चिमी किनारमा इजरायलले गरिरहेको बस्ती विस्तारले प्यालेस्टाइनी जनताको अस्तित्व र दुई-राज्य समाधानलाई गम्भीर खतरामा पारेको बताए। गाजामा इजरायली सेनाले हत्या, विनाश, भोकमरी र विस्थापनका साथै नरसंहारको युद्ध चलाएको उनको आरोप थियो।
युद्ध अपराधको अभियोगमा अन्तर्राष्ट्रिय अपराध अदालतबाट पक्राउ पुर्जी जारी भएका नेतान्याहुले आफ्नो आलोचना गर्ने देश र नेताहरूमाथि प्रहार गरे। बेलायत र फ्रान्सजस्ता देशहरूले इजरायलमाथि उपनिवेशवादको आरोप लगाएकोमा असन्तुष्टि जनाउँदै उनले उपनिवेशवाद शब्दकै सुरुवात ती देशहरूले गरेको दाबी गरे।
यसैगरी टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई तानाशाहको संज्ञा दिँदै नेतान्याहुले हमासलाई समर्थन गरेको आरोप लगाए। यसअघि एर्दोगानले राष्ट्रसङ्घमै गाजा र पश्चिमी किनारका मानिसले भोगेको अन्यायले मानवताको चेतनालाई गहिरो चोट पुर्याएको बताएका थिए।
नेतान्याहुको अभिव्यक्तिपछि टर्कीका सञ्चार निर्देशक बुरहानेत्तिन दुरानले राष्ट्रसङ्घको मञ्च दुरुपयोग गरी टर्की र एर्दोगानमाथि आधारहीन आरोप लगाउनु राष्ट्रसङ्घका आदर्शविपरित भएको प्रतिक्रिया दिएका छन्।
न्यूयोर्क शहरका वामपन्थी मेयर जोहरान मम्दानीले नेतान्याहुलाई पक्राउ गर्ने चेतावनी दिएकोमा पनि उनले कडा आलोचना गरे। नेतान्याहुले मम्दानी मेयर बनेपछि न्यूयोर्कमा धेरै यहूदीहरूले असुरक्षित महसुस गरेको दाबी गरेका थिए। त्यसको जवाफमा मम्दानीको कार्यालयले नेतान्याहुले गाजामा गरिरहेको नरसंहारलाई लुकाउन झूटा दाबीहरूको सहारा लिएको वक्तव्य जारी गरेको छ।
सम्बोधनको अन्त्यमा नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साहसिक नेतृत्वका लागि धन्यवाद दिँदै तेहरानमा संयुक्त रूपमा गरिएको हवाई हमलाले सभ्यताको रक्षा गरेको दाबी गरे। एजेन्सी




प्रतिक्रिया