बालेनको राष्ट्रसंघ सम्बोधनबारे रास्वपा सचेतक धिताल : ‘श्रीगणेश हो, इतिश्री होइन’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसंघको ८१औँ साधारण सभामा गरेको सम्बोधनले नेपालको जलवायु संकट र मानवीय समस्यालाई विश्वमञ्चमा प्रभावकारी रूपमा उठाएको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै धितालले प्रधानमन्त्रीले विश्व समुदायलाई ‘सावधान हुनुपर्ने नजिकिँदो चेतावनी’ बारे सचेत गराएको उल्लेख गरेकी छन्।

प्रधानमन्त्रीले ‘जलवायु परिवर्तनले सीमाना चिन्दैन, हिमनदी र बाढीले पासपोर्टमा छाप लगाएर यात्रा गर्दैनन्’ भन्ने सन्देश दिएको उल्लेख गर्दै धितालले नेपालले भोगिरहेको जलवायुजन्य संकटलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउन सम्बोधन महत्वपूर्ण रहेको बताइन् ।

उनले विपद्का समयमा नेपालसँग ऐक्यबद्धता जनाउने मानवीय संस्था तथा विश्वभरका नागरिकप्रति प्रधानमन्त्रीले व्यक्त गरेको धन्यवादलाई समेत सकारात्मक रूपमा उल्लेख गरेकी छन्।

युद्धका लागि अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल र गोलाबारुद समयमै सीमा पार गर्न सक्ने भए पनि नेपालका किसानले आवश्यक समयमा बजार मूल्यमा मल र इन्धनसमेत पाउन नसक्ने अवस्थाप्रति प्रधानमन्त्रीले उठाएको प्रश्नलाई धितालले महत्वपूर्ण मानेकी छन्।

उनका अनुसार विश्वले युद्धका लागि प्रभावकारी आपूर्ति प्रणाली बनाए पनि खाद्यान्नका लागि कमजोर आपूर्ति प्रणाली निर्माण गरेको छ। नेपालले आफूले नचाहेको जलवायु संकट र आफूले सुरु नगरेको युद्धको असरसमेत भोगिरहेको विषय प्रधानमन्त्रीले विश्वसामु राखेको उनले उल्लेख गरेकी छन्।

‘नेपालका लागि जलवायु विपद् मानवीय संकट मात्रै होइन, खासमा विकासको आपत्काल पनि हो,’ धितालले लेखेकी छन्।

उनले नेपालको आवाज विश्वमञ्चमा पुर्‍याउने काम सफल भएको उल्लेख गर्दै अब त्यसलाई परिणाममा बदल्न निरन्तर बैठक, छलफल र समन्वय आवश्यक रहेको बताएकी छन्।

‘यो चरण यस यात्राको श्रीगणेश हो, इतिश्री होइन,’ उनले लेखेकी छन्, ‘हामीले अघि सारेको कदमलाई गन्तव्यसम्म पुर्‍याउन थप निरन्तर बैठक, छलफल र समन्वय आवश्यक छ। यो आवाजलाई बिसाउन नदिने दृढताको आवश्यकता छ।’