मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण


भ्याटिकन सिटी, ९ असोज  । पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै छन् । धर्मनिरपेक्षताको कडा नीति अपनाएको फ्रान्समा क्याथोलिक चर्चको प्रभाव घटिरहेका बेला उनले प्रत्येक मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्ने अपेक्षा गरिएको छ ।

लियोले चार दिनको भ्रमणका क्रममा पेरिस, क्याथोलिक तीर्थस्थल लड्र्स र उत्तरपूर्वी सहर मेत्जको भ्रमण गर्नेछन् । युद्धका समयमा शान्तिको आवश्यकता तथा कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले मानव हुनुको अर्थबारे उठाएका प्रश्नमा पनि उनले ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ ।

शुक्रबार बिहान लियोको चार्टर विमान पेरिसको ओर्ली विमानस्थलमा अवतरण गर्नेछ । उनलाई स्वागत गर्न फ्रान्सभर चर्चका घण्टी बजाइने र १० लाखभन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ । १८ वर्षपछि पोपबाट हुन लागेको यो पहिलो फ्रान्स भ्रमण हो ।

लियोले विमानस्थलमा स्वागतपछि राष्ट्रपति इमानुएल म्याक्रोनसँग एलिसी प्यालेसमा भेट गर्नेछन् । त्यसपछि उनले युनेस्को मुख्यालयमा सम्बोधन गर्ने, हालै पुनः सञ्चालनमा आएको नोट्रे–डाम क्याथेड्रलमा साँझको प्रार्थनामा सहभागी हुने तथा पेरिसको रङ्गशालामा युवाहरूको विशाल धार्मिक सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

– म्याक्रोनका लागि महत्त्वपूर्ण भ्रमण –

म्याक्रोनको कार्यकालको अन्तिम चरणमा पोपको स्वागतलाई फ्रान्सेली राजनीतिक वृत्तमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । पोप फ्रान्सिसले आफ्नो १२ वर्षे कार्यकालमा फ्रान्सको औपचारिक राजकीय भ्रमण गरेको थिएन् ।

पेरिसस्थित ईपीएचई विश्वविद्यालयका क्याथोलिक अध्ययनका निर्देशक चाल्र्स मर्सियरका अनुसार पोपसँगको भेटले म्याक्रोनलाई उनको लोकप्रियताको केही लाभ लिन सक्ने अवसर दिन सक्छ ।

म्याक्रोनको कार्यालयले भने भेटमा युरोपेली तथा अन्तरराष्ट्रिय मामिलाका साथै जलवायु परिवर्तन र एआईजस्ता विश्वव्यापी चुनौतीबारे छलफल हुने जनाएको छ । जीवनको अन्त्यतिरको हेरचाह र बालबालिकाको सुरक्षाका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।

– धर्मनिरपेक्ष फ्रान्समा चर्चको सन्देश –

लियो युरोपको क्रिश्चियन विरासत तथा मानव जीवनको मूल्य र मर्यादाबारे चर्चको सन्देश अघि बढाउन इच्छुक देखिन्छन् । फ्रान्सले सन् २०२४ मा गर्भपतनको अधिकारलाई संविधानमै सुनिश्चित गरेको थियो । त्यस्तै, सांसदहरूले निको नहुने रोगबाट पीडित वयस्कलाई चिकित्सकीय सहयोगमा जीवन अन्त्य गर्न अनुमति दिने विधेयकलाई अन्तिम स्वीकृति दिएका छन् ।

क्याथोलिक चर्चले गर्भधारणदेखि प्राकृतिक मृत्युसम्म मानव जीवनको संरक्षण गर्नुपर्ने मान्यता राख्दै यस्ता कानूनी कदमको विरोध गर्दै आएको छ । तर फ्रान्समा बढ्दो धर्मनिरपेक्षता र पादरीबाट भएका यौन दुव्र्यवहारका घटनाका कारण चर्चको प्रभाव र विश्वसनीयता कमजोर भएको छ ।

फ्रान्सको धर्मनिरपेक्षताको मोडल ‘लाइसिते’ ले धार्मिक विश्वास वा अविश्वासको स्वतन्त्रता सुनिश्चित गर्छ र राज्यलाई सबै धर्मप्रति तटस्थ रहन बाध्य पार्छ । यसको मुख्य आधार सन् १९०५ को कानून हो, जसले राज्य र क्याथोलिक चर्चबीचको सम्बन्ध अलग गरेको थियो ।

लियोले गर्भपतन वा जीवनको अन्त्यसम्बन्धी कानूनका विषयमा फ्रान्सेली जनतालाई आलोचना गर्ने अपेक्षा गरिएको छैन । बरु, भ्याटिकन न्युजका सम्पादकीय निर्देशक आन्द्रेआ टोर्निलीका अनुसार उनले ‘आजको समयमा मानव हुनुको अर्थ’ बारे गम्भीर चिन्तन गर्न आह्वान गर्नेछन् ।

– ओलम्पिक शैलीको सुरक्षा व्यवस्था –

पोपको भ्रमणलाई ध्यानमा राख्दै पेरिसमा ओलम्पिकस्तरको सुरक्षा व्यवस्था गरिएको छ । प्रहरीका अनुसार घोडसवार प्रहरी, बम निष्क्रिय पार्ने विशेषज्ञ, ड्रोनविरोधी प्रणाली र आतङ्कवादविरोधी सुरक्षा उपाय परिचालन गरिनेछन् ।

शुक्रबार पेरिसमा मात्रै करिब १४ हजार प्रहरी, जेन्डार्म र सैनिक तथा दुई हजार पाँच सय अग्निनियन्त्रक परिचालन गर्ने योजना छ । शनिबार प्लास डे ला कन्कोर्डमा हुने विशेष धार्मिक सभाका क्रममा पनि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ ।

पेरिस प्रहरीले सन् २०२४ को ओलम्पिक तथा प्याराओलम्पिक खेलकुदमा अपनाइएको जस्तै बहुस्तरीय सुरक्षा घेरा बनाइने जनाएको छ । रासस