हेटौँडा, ९ असोज । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालैपालो सवारीसाधन सञ्चालन गरिने भएको छ ।
दुवै राजमार्ग अवरुद्ध भई त्रिभुवन राजपथमा सवारीसाधनको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट हेटौँडा आउने सवारीसाधनका लागि छुट्टाछुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार आज हेटौँडाको चौकीटोलबाट काठमाडौँतर्फ बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म र काठमाडौँबाट हेटौँडातर्फ सिमभञ्ज्याङ चौकीबाट साँझ ७ः०० बजेदेखि राति ११ः०० बजेसम्म सवारीसाधन सञ्चालन गरिनेछ ।
शनिबार हेटौँडाबाट काठमाडौँतर्फ बिहान ४ः०० बजेदेखि ८ः०० बजेसम्म तथा राति १०ः०० बजेदेखि असोज ११ गते बिहान २ः०० बजेसम्म सवारीसाधन सञ्चालन गरिनेछ । काठमाडौँबाट हेटौँडातर्फ भने शनिबार दिउँसो १ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म र असोज ११ गते आइतबार बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म सवारीसाधन सञ्चालन गरिने उनले बताए ।
प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेकाबाहेक १० चक्केभन्दा लामा र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ । यात्रुवाहक बस भने ११ मिटर लम्बाइसम्मका मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । प्रजिअ अधिकारीले तोकिएको समय तालिकाअनुसार मात्रै यात्रा गर्न चालक, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको जानकारी दिए ।




प्रतिक्रिया