काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य राममणि रायमाझीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र अन्तर्राष्ट्रिय समुदायको दायित्वबारे आवाज उठाउन गएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भएको सम्बोधनबारे धारणा राख्दै रायमाझीले नेपालले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा करिब ०.१ प्रतिशत मात्रै हिस्सा ओगटे पनि जलवायु परिवर्तनको ठूलो समस्या भोग्नुपरेको बताए।
‘हाम्रो दोष छैन, हामीले ०.१ प्रतिशत मात्रै विश्वको कुल हरितगृह ग्यासको उत्सर्जन ओगट्छौं,’ उनले भने।
नेपालले भोगिरहेको जलवायुजन्य समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नुपर्ने भएकाले प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा गएको उनको भनाइ थियो।
रायमाझीले प्रधानमन्त्री बालेन शाह समयको मागअनुसार युवा नेतृत्व पाएको पनि बताए। उनले एमालेका प्रमुख सचेतक ऐन महरको टिप्पणीप्रति कटाक्ष गर्दै प्रधानमन्त्री आफ्नो शैलीमा अघि बढिरहेको बताए।
‘समयको माग हो। बालेन युवा नेतृत्व पायौं,’ उनले भने, ‘हाम्रो प्रधानमन्त्री आफ्नो शैलीमा चल्नुभएको छ। कुनै राजा-महाराजा जस्तो देखिन खोजिएको होइन।’
प्रधानमन्त्री शाह सामान्य रूपमा न्यूयोर्क गएको भन्दै रायमाझीले विगतका दलहरूको सरकार भएको भए भ्रमणमा तामझाम बढी हुने दाबी गरे।
उनले पुराना दलको सत्ता भएको भए प्रधानमन्त्रीको विदेश भ्रमणमा ठूलो तामझाम गरिने भए पनि बालेनले सामान्य रूपमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाएको बताए।




प्रतिक्रिया