प्रधानमन्त्री बालेन आज स्वदेश फर्किँदै, विमानस्थलमा तामझाम नगर्ने


काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शनिबार स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलमा कुनै तामझाम नगरिने स्राेतले बतायाे ।

यसअघि विदेश भ्रमणबाट फर्किँदा प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा रेड कार्पेट बिछ्याउने, सलामी दिने तथा मन्त्री, कूटनीतिज्ञ र उच्चपदस्थ अधिकारीको उपस्थितिमा औपचारिक स्वागत गर्ने प्रचलन थियो।

स्रोतका अनुसार विमानस्थलमा रेड कार्पेट नबिछ्याइने, औपचारिक सलामी नदिइने तथा ठूलो संख्यामा मन्त्री, कूटनीतिज्ञ र उच्चपदस्थ कर्मचारीको उपस्थिति नरहने भएको छ। प्रधानमन्त्री विमानस्थलबाट ओर्लिएलगत्तै गाडी चढेर सिधै जानेछन्।

स्वागतका लागि गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल जाने स्रोतको दाबी छ। मंगलबार साँझ प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्ने क्रममा पनि गुरुङ र पौडेल विमानस्थलमा पुगेका थिए ।

यद्यपि, प्रधानमन्त्रीको आगमनसँग सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रेस ब्रिफिङ गर्ने भएका छन् ।

प्रेस ब्रिफिङ आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट कक्ष (भीआईपी लाउन्ज) को मिडिया कक्षमा हुने मन्त्रालयले जनाएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको प्रेस तथा सूचना समन्वय शाखाले सञ्चारमाध्यमका प्रतिनिधिलाई प्रधानमन्त्रीको आगमन समयभन्दा कम्तीमा आधा घण्टा अगावै प्रेस ब्रिफिङस्थलमा उपस्थित गराउन सूचना तथा प्रसारण विभागलाई अनुरोध गरेको छ ।

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागितासम्बन्धी विषयमा प्रेस ब्रिफिङमार्फत जानकारी दिइने जनाइएको छ ।