‘विश्वमञ्चमा उठेको जेन्जी पुस्ताको आवाज अब देशभित्रको शासनमा पनि सुनिनुपर्छ’ : अजय सोडारी


काठमाडौं । जेन्जी अभियन्ता अजय सोडारीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली युवाको भावना, अपेक्षा र पछिल्लो पुस्तान्तरणको आवाज विश्वमञ्चमा उठाएको बताएका छन्।

सोडारीले प्रधानमन्त्रीको सम्बोधनले नेपाली युवाले खोजेको इमानदारी, जवाफदेहिता, नयाँपन र परिणाममुखी शासनको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेको बताएका हुन्।

प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै नयाँ पुस्ताको चाहना प्रतिबिम्बित गर्ने ताजा लोकतान्त्रिक जनमतका साथ आफू महासभामा उपस्थित भएको तथा नेपाली युवाले इमानदारी र जवाफदेहिताको राजनीति माग गरेको बताएका थिए।

सोडारीका अनुसार प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अन्तर्राष्ट्रिय मञ्चमा गरिएको राजनीतिक सम्बोधनमा मात्रै सीमित नभई नेपालको पछिल्लो पुस्तान्तरणको बहससँग पनि जोडिएको छ।
‘आज नेपाली युवाले राजनीतिबाट खोजिरहेको विषय नयाँपन, इमानदारी, जवाफदेहिता र परिणाम हो,’ सोडारीले भने ।

नयाँ पुस्ताले राजनीतिक नेतृत्वसँग आश्वासन मात्रै नभई शासनको शैलीमा परिवर्तन खोजेको उनको भनाइ छ। प्रश्न गर्ने अधिकार, निर्णय प्रक्रियामा सहभागिता, पारदर्शिता र आफ्नो भविष्यप्रति भरोसा नयाँ पुस्ताको अपेक्षा रहेको उनले बताए ।

उनले नेपाली युवा आफ्नै देशमा इमानका साथ काम गरेर भविष्य निर्माण गर्न चाहेको उल्लेख गर्दै मर्यादित रोजगारी, स्वरोजगार, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न सक्ने वातावरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

देशभित्र मौलाउँदै गएको बेथिति, भ्रष्टाचार, कुशासन र दण्डहीनताको अन्त्य पनि नयाँ पुस्ताको प्रमुख अपेक्षा रहेको सोडारीले बताए ।

उनले नेपाली जेन्जी पुस्ताको आन्दोलनलाई समेत यही अपेक्षाको पृष्ठभूमिमा बुझ्नुपर्ने बताएका छन्। सडकमा उठेको आवाज तत्कालीन सरकारको असन्तुष्टिको अभिव्यक्ति मात्रै नभई राज्य र राजनीतिक नेतृत्वसँग नयाँ सम्बन्ध खोज्ने पुस्ताको आवाज भएको उनको दाबी छ।
‘राजनीतिको अर्थ सत्ता प्राप्ति मात्र होइन, नागरिकप्रति उत्तरदायित्व पनि हो भन्ने प्रश्न जेन्जी पुस्ताले उठाएको थियो,’ उनले भने।

सोडारीले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपाली युवाको भावना र आकांक्षालाई विश्वमञ्चमा उठाउनु सकारात्मक सन्देश भएको बताए । नेपाली युवाको संघर्ष, बलिदान र परिवर्तनको चाहना प्रधानमन्त्री तहबाट अन्तर्राष्ट्रिय समुदायसामु प्रस्तुत हुनु महत्वपूर्ण विषय भएको उनको भनाइ छ।

तर विश्वमञ्चमा व्यक्त गरिएका प्रतिबद्धता देशभित्र कति कार्यान्वयन हुन्छन् भन्ने प्रश्न भने बाँकी रहेको उनले बताए।
‘युवाले अब भाषणभन्दा व्यवहार हेर्न चाहन्छ। प्रधानमन्त्रीले महासभामा इमानदारी र जवाफदेहिताको राजनीति आवश्यक रहेको बताउनुभएको छ भने यसको पहिलो परीक्षा देशभित्रै हुनेछ,’ सोडारीले भने।

उनका अनुसार नयाँ पुस्ताले खोजेको जवाफदेहिता सरकारका निर्णयमा, इमानदारी शासनको व्यवहारमा र नयाँपन राजनीतिक संस्कारमा देखिनुपर्छ। रोजगारी र अवसरसम्बन्धी प्रतिबद्धता पनि नीति तथा कार्यक्रमको परिणाममा देखिनुपर्ने उनले बताए।
‘परिवर्तनको कुरा विश्वमञ्चमा गर्नु एउटा चरण हो। त्यसलाई नागरिकको दैनिक जीवनमा अनुभूति गराउनु अर्को र अझ महत्वपूर्ण चरण हो,’ उनले भने।

सोडारीले जेन्जी पुस्ताले आत्मसम्मान, राजनीतिक नेतृत्वप्रति भरोसा र आफ्नै देशमा काम गरेर भविष्य निर्माण गर्ने अवसर खोजिरहेको बताए। राज्यले आफूलाई सुन्छ, सम्मान गर्छ र समान अवसर दिन्छ भन्ने विश्वास नयाँ पुस्तामा विकास हुनुपर्ने उनको भनाइ छ।

उनले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले व्यक्त गरेको युवासम्बन्धी प्रतिबद्धतालाई केवल भाषणका शब्दका रूपमा नभई कार्यान्वयन गर्नुपर्ने सार्वजनिक प्रतिबद्धताका रूपमा लिनुपर्ने बताए।