बेलायतको अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, अनुसन्धान जारी


लन्डन, १२ असोज । बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा नजिकैबाट पाँच जना पुरुषलाई आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पक्राउ गरिएको बेलायती प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान तीन वटा शंकास्पद गाडी उक्त वायुसेना अड्डातर्फ अघि बढिरहेको सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो । त्यसपछि पाँच जनालाई पक्राउ गरिएको हो ।

बेलायतको स्वामित्वमा रहेको फेयरफोर्ड वायुसेना अड्डा अमेरिकाले सञ्चालन गर्दै आएको छ । इरानसँगको युद्धका क्रममा अमेरिकी सैन्य गतिविधिका लागि समेत उक्त अड्डा प्रयोग हुँदै आएको बताइएको छ ।

पक्राउ परेका व्यक्तिहरूको इरानसँग कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । यद्यपि, उनीहरूको उद्देश्य वा घटनामा उनीहरूको वास्तविक भूमिकाबारे अनुसन्धान पूरा भइसकेको छैन ।

अधिकारीहरूले घटनालाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयका रूपमा लिँदै अनुसन्धान अघि बढाएका छन् । हालसम्म पक्राउ परेका व्यक्तिहरूमाथि कुनै आरोप औपचारिक रूपमा पुष्टि गरिएको छैन ।

बेलायती अधिकारीहरूले भने घटनाको थप अनुसन्धान भइरहेको र आवश्यक तथ्यहरू संकलन गरिरहेको जनाएका छन् । रासस