दक्षिणी पोर्चुगलको वृद्धाश्रममा रुघाखोकीको सङ्क्रमणबाट ५ वृद्धको मृत्यु


लिस्बन, १२ असोज । दक्षिणी पोर्चुगलको एक वृद्धाश्रममा ‘इन्फ्लुएन्जा ए भाइरस’ को संक्रमण फैलिएपछि पाँच जना वृद्धवृद्धाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

सेन्ट्रल अल्टेजोको स्थानीय स्वास्थ्य एकाइका अनुसार गत बुधबारदेखि उक्त वृद्धाश्रमबाट ९ जना बिरामीलाई अस्पतालको आकस्मिक उपचार कक्षमा भर्ना गरिएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको थियो। प्रयोगशाला परीक्षणबाट दुई जनामा इन्फ्लुएन्जा ए भाइरसको संक्रमण पुष्टि भएको थियो ।

अस्पतालमा उपचारका क्रममा भएका तीन मृत्युसहित उक्त संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको हो । यसअघि नै वृद्धाश्रममा दुई जनाको मृत्यु भएको थियो ।

इभोरा जिल्लाको एस्त्रेमोजस्थित वृद्धाश्रममा स्वास्थ्य अधिकारीहरूले बिहीबार निरीक्षण गरेका थिए । उनीहरूले संक्रमण नियन्त्रणका उपाय, सरसफाइ, बिरामीलाई अलग राख्ने व्यवस्था तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्रीको प्रयोगलगायत विषयमा निगरानी गरिरहेका छन् ।

आइतबार दिउँसो गरिएको पुनः निरीक्षणमा भने नयाँ संक्रमित व्यक्ति भेटिएको वा बाँकी रहेका वृद्धवृद्धाको स्वास्थ्य अवस्था बिग्रिएको कुनै संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् ।

पोर्चुगलको महान्यायाधिवक्ताको कार्यालयले घटनाबारे छानबिन सुरु गरिएको पुष्टि गरेको छ । हालसम्म घटनामा कुनै व्यक्तिलाई औपचारिक रूपमा दोषी वा संदिग्धका रूपमा पहिचान गरिएको छैन । रासस