काठमाडौ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको मिति एक–दुई दिन सार्ने विषयमा छलफल अघि बढाएको छ।
अविरल वर्षापछि उत्पन्न विपद्का कारण केही जिल्लामा अधिवेशन प्रक्रिया अझै पूरा हुन नसकेपछि महाधिवेशनको उद्घाटन मिति परिवर्तन गर्ने तयारी गरिएको हो। यस विषयमा निर्णय गर्न कांग्रेसले आज बैठक बोलाएको छ। बैठकले केन्द्रीय महाधिवेशनको निर्धारित मिति यथावत् राख्ने वा केही दिन पर सार्नेबारे निर्णय गर्नेछ।
कांग्रेस उपसभापति पुष्पा भुसालले केही जिल्लामा अधिवेशन बाँकी रहेकाले केन्द्रीय महाधिवेशन केही दिन सर्न सक्ने बताइन्। उनका अनुसार विपद्का कारण प्रभावित जिल्लाको अधिवेशन प्रक्रिया पूरा गर्न समय आवश्यक देखिएको छ।
महामन्त्री प्रदीप पौडेलले भने महाधिवेशन धेरै दिन सार्ने तयारी नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार उद्घाटन कार्यक्रमको मिति मात्रै एक वा दुई दिनसम्म परिवर्तन गर्ने विषयमा छलफल भइरहेको छ। कांग्रेसले यसअघि १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो। महाधिवेशन उद्घाटनका लागि कांग्रेसले अन्य राजनीतिक दलका प्रमुख नेताहरूलाई समेत निमन्त्रणा पठाइसकेको छ।
अब आज बस्ने बैठकले महाधिवेशनको मिति र कार्यक्रमसम्बन्धी अन्तिम निर्णय गर्नेछ।




प्रतिक्रिया