भक्तपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढेसँगै तल्लो तहदेखि नै सांगठनिक जोडघटाउ र उम्मेदवारी घोषणाको होड तीव्र बनेको छ। यसै क्रममा भक्तपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य माननीय डा. गंगालक्ष्मी अवालले आदिवासी जनजाति महिलातर्फ महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
संसदीय राजनीतिमा सक्रिय डा. अवालको उम्मेदवारी घोषणाले भक्तपुर कांग्रेसभित्र महाधिवेशन प्रतिनिधि चयनको अंकगणित र चर्चालाई थप तताएको छ। पार्टीको नीति निर्माण तहमा आदिवासी जनजाति र महिलाको प्रतिनिधित्वलाई सीमित औपचारिकतामा मात्र नराखी थप प्रभावकारी, सशक्त र परिणाममुखी बनाउन आफूले उम्मेदवारी दिएको उनले स्पष्ट पारेकी छन्। त्यसैले आफूलाई भारी मतले विजयी गराउन डा. अवालले आग्रह गरेकी छन् ।
प्रतिनिधिसभा सदस्यका रूपमा क्षेत्र र सदन दुवैतिर सक्रिय डा. अवालले महाधिवेशन प्रतिनिधि जितेसँगै १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा समेत प्रतिस्पर्धा गर्ने तयारी गरेकी छन्।
महाधिवेशनको मिति नजिकिँदै गर्दा विभिन्न क्षेत्र, भूगोल र समुदायबाट उम्मेदवारी सार्वजनिक गर्ने क्रम बढेका बेला भक्तपुर–१ मा डा. अवालको उम्मेदवारीलाई पार्टीभित्रको समावेशी शक्ति सन्तुलन र केन्द्रीय राजनीतिक यात्राको महत्त्वपूर्ण प्रस्थानविन्दुका रूपमा हेरिएको छ।




प्रतिक्रिया