वर्षा र तयारी नपुगेपछि कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेलाई सारियो


काठमाडौ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अब असोज १८ गतेदेखि हुने भएको छ।

यसअघि असोज १६ गतेदेखि महाधिवेशन गर्ने तय भए पनि विभिन्न जिल्लामा अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा हुन बाँकी रहेपछि दुई दिन पर सारिएको हो। कांग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन्। कांग्रेसका अनुसार १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन्।

यसैबीच देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका विभिन्न तहका कार्यसमितिबाट प्राप्त भएको कांग्रेसले जनाएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटनको मिति असोज १६ बाट असोज १८ गते सारिएको कांग्रेसले जनाएको हो। महाधिवेशनको उद्घाटनपछि बाँकी कार्यक्रम तथा अधिवेशनका प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी कांग्रेसको छ।