काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले आफूलाई ‘औसत क्षमताको इन्जिनियर’ भन्दै प्रधानमन्त्री बालेन शाह लक्षित साङ्केतिक टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा बोल्दै सांसद आचार्यले क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू आफूलाई असाधारण लाग्ने र आफू पनि सोही दिशामा प्रयासरत रहेको बताएका हुन्।
“म औसत क्षमताको इन्जिनियर भएर होला, मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ,” सदनमा बोल्दै आचार्यले भने, “म आफैँ पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु।”
सम्बोधनका क्रममा आचार्यले प्रधानमन्त्री शाहको नाम सुनिने गरी उच्चारण नगरे पनि उनको भनाइको तीर भने सिधै सिंहदरबारतर्फ तेर्सिएको थियो। प्रधानमन्त्री शाहले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदहरूसँग विशेष छलफल गरेका थिए- जसमा नेपाली कांग्रेसका मोहन आचार्यबाहेक बाँकी सबै रास्वपाका सांसद थिए।
उक्त छलफलमा प्रधानमन्त्री शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी’ को सङ्ज्ञा दिँदै औद्योगिकीकरण र विकासका लागि नयाँ आइडिया र सिर्जनात्मक प्रस्ताव ल्याउन आग्रह गरेका थिए। त्यस्ता प्रस्ताव लिएर आउने सांसदलाई आफूले सिधै भेट्ने र सहजीकरण गर्ने प्रतिबद्धतासमेत शाहले जनाएका थिए।
आचार्यको पछिल्लो अभिव्यक्तिलाई प्रधानमन्त्रीको सोही भनाइप्रतिको बौद्धिक प्रतिक्रियाका रूपमा हेरिएको छ।
प्रधानमन्त्रीको टिप्पणीमाथि साङ्केतिक विचार राखेलगत्तै सांसद आचार्यले राष्ट्रिय पहिचान र फिनटेक क्षेत्रसँग जोडिएको अर्को महत्त्वपूर्ण विषय उठान गरे। उनले नेपाली मुद्रा (रुपैयाँ) को आफ्नै विशिष्ट प्रतीक (सिम्बोल) निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड, जापानी येनका साथै छिमेकी मुलुक भारतको भारु र चीनको युआनको आफ्नै विश्वव्यापी प्रतीक रहेको स्मरण गराउँदै उनले नेपालले पनि आफ्नै चिह्न बनाउनुपर्नेमा जोड दिए।
“आजको ग्लोबल फिनटेक र डिजिटल युगमा नेपाली मुद्राको छुट्टै प्रतीक हुनु प्राविधिक विषय मात्र होइन, यो राष्ट्रिय स्वाभिमान र पहिचानको विषय पनि हो,” आचार्यले भने। देवनागरी लिपिको मौलिकता झल्किने गरी नेपाली मुद्राको पहिचान स्थापित गर्नका लागि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले अविलम्ब पहल गर्नुपर्ने उनको भनाइ थियो।
डिजिटल तथा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा नेपाली मुद्राको पहुँच र सहजीकरणका लागि मौलिक प्रतीक अपरिहार्य भइसकेको आचार्यले स्पष्ट पारे।




प्रतिक्रिया