धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’


बनेपा (काभ्रे), १६ असोज । काभ्रेको पर्यटकीय नगरी धुलिखेललाई देशकै प्रमुख ‘खेलकुद हब’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको छ ।

सोही सिलसिलामा धुलिखेल नगरपालिका– ११ र १२ को सिमाना चिसापानी डाँडामा अन्तरराष्ट्रियस्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माण गर्न लागिएको छ ।

रङ्गशालाका लागि सङ्घीय सरकारबाट बजेट र नगरपालिकाबाट जग्गा सुनिश्चित भएपछि निर्माण प्रक्रिया अघि बढाउन सहमति बनेको हो ।

धुलिखेल नगरपालिका र जिल्ला खेलकुद विकास समितिबीच यस विषयमा औपचारिक सम्झौतासमेत भएको छ ।
 नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख निराजन जङ्गम र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइबाले सम्झौतापत्रमा विहीबार हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार, नगरपालिकाले यसअघि नेपाल हक्की सङ्घलाई ४० वर्षका लागि उपयोग गर्न अनुमति दिएको करिब २०० रोपनी जग्गामा उक्त परियोजना अघि बढाइनेछ । 

रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०८३÷०८४ मा सङ्घीय सरकारबाट रु तीन करोड बजेट विनियोजन भएको नगरपालिका शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले जानकारी दिए ।

उक्त परियोजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत कार्यान्वयन हुनेछ । कार्यवाहक नगर प्रमुख जङ्गमले धुलिखेललाई ‘खेलकुदमैत्री पालिका’ का रूपमा विकास गर्ने लक्ष्यअनुसार  योजना अघि बढाइएको बताए । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वाइबाले सरकारका सम्बन्धित निकायसँग समन्वय गरी थप बजेट र पूर्वाधार व्यवस्थापनका लागि समितिले सक्रिय पहल गर्ने प्रतिबद्धता जनाए । 

उक्त रङ्गशालामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता  नभएका बेला स्थानीय विद्यालय, क्लब र खेलाडीले नियमित प्रशिक्षण गर्न पाउने व्यवस्था मिलाइने सो अवसरमा जानकारी दिइयो ।

आगामी दुई वर्षमा निर्माण सम्पन्न गरिने उक्त परियोजनासम्बन्धी सम्झौताले धुलिखेललाई हक्की खेलको नयाँ गन्तव्यका रुपमा अघि बढाउने विश्वास लिइएको छ ।