धक्काबाट विचलित नभई पुनरागमनको तयारी गरौँ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक परिस्थितिबाट पार्टीले भोगेको धक्काबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। उनले पार्टीको उद्देश्यलाई केन्द्रमा राखेर पुनः सशक्त रूपमा अघि बढ्नुपर्ने बताए ।

शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले व्यक्तिगत स्वार्थ, अहम् र आन्तरिक विवादभन्दा पार्टीको दीर्घकालीन लक्ष्यलाई प्राथमिकता दिन निर्देशन दिए।

ओलीले पार्टीभित्र अहिले ‘रियलाइजेसन’ अर्थात् आफ्नो भूमिका, जिम्मेवारी र उद्देश्यबारे गम्भीर बोध आवश्यक रहेको बताए। उनका अनुसार रियलाइजेसन आत्मालोचनामा मात्रै सीमित नभई विवेक, कर्तव्य, अनुशासन र ज्ञानसँग जोडिएको विषय हो।

सत्यलाई स्वीकार गर्दै अघि बढ्न सके कठिन परिस्थितिबाट पनि पार्टी पुनः उठ्न सक्ने ओलीको भनाइ थियो। उनले अहिले पार्टीले सामना गरेको राजनीतिक धक्कालाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने र त्यसबाट विचलित हुन नहुने बताए।

एमाले विगतमा दुईतिहाइ नजिकको अवस्थामा पुगेको स्मरण गर्दै ओलीले त्यो उपलब्धि नै पार्टीको अन्तिम लक्ष्य भने नभएको स्पष्ट पारे। उनले पार्टीको महान उद्देश्य प्राप्तिका लागि सानातिना विषय, व्यक्तिगत इगो र अनावश्यक विवादमा नअल्झिन कार्यकर्तालाई आग्रह गरे।