काठमाडौं । त्रिपुरेश्वरमा केही महिनाको अन्तरमा भएका दुई आत्मदाहका घटनालाई लिएर जेन्जी अभियन्ता अजय सोडारीले गृहमन्त्री सुधन गुरुङमाथि प्रश्न उठाएका छन्। उनले एउटै प्रकृतिका घटनामा राज्यको व्यवहार फरक देखिएको भन्दै नागरिकप्रतिको समान जिम्मेवारी माग गरेका हुन्।
सोडारीका अनुसार मुगुका गणेश नेपालीले त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि आत्मदाहको प्रयास गर्दा गृहमन्त्री गुरुङ घाइतेलाई भेट्न अस्पताल पुगेका थिए। परिवारसँग भेटेर आश्वासन दिएको र घटनाप्रति सार्वजनिक रूपमा संवेदना व्यक्त गरेको स्मरण गर्दै सोडारीले त्यस्तै प्रकृतिको घटनामा मकवानपुरका अर्जुन दोङप्रति राज्यको उपस्थिति किन नदेखिएको भन्दै प्रश्न गरेका छन्।
अर्जुन दोङले पनि त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग विवाद भएपछि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते दोङको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। यही घटनालाई जोड्दै सोडारीले भनेका छन्, “गणेश नेपाली गरिब थिए, अर्जुन दोङ पनि गरिब नै हुन्। गणेश नेपाली नेपाली नागरिक थिए, अर्जुन दोङ पनि नेपाली नागरिक नै हुन्। दुवैको जीवनको मूल्य एउटै हो।”
उनले गृहमन्त्रीलाई प्रश्न गर्दै भनेका छन्, “गणेशको घटनामा खसेका आँसु अर्जुन दोङको घटनामा किन खसेनन्, मन्त्रीज्यू? अस्पताल किन पुग्नुभएन? पीडित परिवारलाई किन भरोसा दिनुभएन?”
सोडारीले राज्यको संवेदना नागरिकको अनुहार, पहुँच वा राजनीतिक परिस्थितिअनुसार फरक हुन नहुने बताएका छन्। “हामीलाई क्यामेराअगाडिको आँसु होइन, संकटमा परेका नागरिकका लागि देखिने वास्तविक संवेदना चाहिएको हो,” उनले भनेका छन्।




प्रतिक्रिया