काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना


कपिलवस्तु । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरिरहेको बताएकी छन् । 

कपिलवस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा उनले नेपालका वनमा काठ कुहिने र धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्था अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताइन् । 

मन्त्री चौधरीले वनको दिगो व्यवस्थापनसँगै स्वदेशी काठको उत्पादन र उपभोग बढाउन सरकारको प्राथमिकता रहेको  जानकारी दिइन् ।  

उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै विदेशी काठको आयात प्रतिस्थापनका लागि स्वदेशी काठको उत्पादन र उपभोग बढाउने विषय समेटिएको जानकारी दिए । 

“नेपालको वनमा रहेको काठको व्यवस्थित व्यवस्थापन र उपयोगका लागि कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ,” उनले भनिन् । 
    
मन्त्री चौधरीले काठ आयात प्रतिस्थापनका लागि देशका विभिन्न स्थानमा भएका सफल अभ्यासको अध्ययन तथा अनुगमन भइरहेको बताइन् । 

स्वदेशी काठको उत्पादन, व्यवस्थापन, बिक्री तथा उपभोगलाई सहज बनाउन आवश्यक नीतिगत व्यवस्था गर्न सामुदायिक वन, साझेदारी वन र डिभिजन वन कार्यालयको स्थलगत अध्ययन भइरहेको उनको भनाइ छ ।
    
नेपालमा आवश्यकताअनुसार काठ उपलब्ध हुने अवस्था हुँदाहुँदै पनि विदेशबाट काठ आयात भइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले स्वदेशी काठको व्यवस्थित उपयोग र खपत बढाउनुपर्नेमा जोड दिए । रासस