रामेछाप । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन अन्तर्गत रामेछापबाट महाधिवेशन प्रतिनिधिमा ( पेशागत विज्ञ समूह) तर्फबाट इन्जिनियर नारायणकुमार घिमिरे निर्वाचित भएका छन् ।
शुक्रवार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार उनले सर्वाधिक मत(५५२) ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै घिमिरेले रामेछापका विकासका मुद्दालाई राष्ट्रिय राजनीतिक तहसम्म प्रभावकारी रूपमा पुर्याउने, विज्ञ तथा पेशागत क्षेत्रको सहभागिता बढाउने र काङ्ग्रेस संगठनलाई समयअनुकूल तथा परिणाममुखी बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले व्यक्तिभन्दा विचार, गुटभन्दा संगठन र स्वार्थभन्दा जनहितलाई प्राथमिकता दिने बताए ।
इन्जिनियरिङ पेशासँगै राजनीतिमा सक्रिय घिमिरेले रामेछापको समग्र विकासका लागि पूर्वाधार, शिक्षा, रोजगारी, प्रविधि, पर्यटन तथा स्थानीय तहको क्षमता अभिवृद्धिलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।
इन्जिनियरका रूपमा प्राप्त प्राविधिक ज्ञान र अनुभवलाई नीति निर्माण तथा विकास योजनासँग जोड्दै जिल्लाका सम्भावना र चुनौतीलाई पार्टीको राजनीतिक बहसमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने उनको भनाइ छ ।
विशेषगरी विकास निर्माणमा गुणस्तर, पारदर्शिता र दीर्घकालीन योजनाको आवश्यकता रहेकोमा घिमिरेले जोड दिँदै आएका छन् । घिमिरे लामो समयदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय छन् । उनी २०७० सालमा थापाथली इन्जिनियरिङ क्याम्पसको इकाइ अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसपछि २०७३ सालमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसिएसनको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
त्यस्तै, २०७९ सालमा नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि, रामेछापमा निर्वाचित भएका घिमिरे २०८० सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए । इन्जिनियरिङ पेशा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएका घिमिरेले इन्जिनियरिङ म्यानेजमेन्ट र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।




प्रतिक्रिया