काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सभापतिमा गगन थापालाई सर्वसम्मत बनाउने प्रयास भइरहेका बेला राठौरले आफू प्रतिस्पर्धाबाट पछि नहट्ने स्पष्ट पारेका हुन्।
५७ वर्षीय राठौर विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका नेता हुन्। उनी १२औँ र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए। यसपटक भने उनले सभापति पदमै प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
सर्वसम्मतिको प्रयासप्रति असन्तुष्टि
कांग्रेसमा गगन थापालाई सभापतिमा सर्वसम्मत बनाउने प्रयासप्रति राठौर सन्तुष्ट छैनन्। कांग्रेसको इतिहासमा नेतृत्व चयन प्रतिस्पर्धाबाटै हुँदै आएको उल्लेख गर्दै उनले सभापतिमा मात्रै सर्वसम्मतिको अपेक्षा गर्नुको औचित्यमाथि प्रश्न उठाएका छन्।
उनका अनुसार कांग्रेसमा सभापतिसहित अन्य पदमा पनि निर्वाचन हुने अवस्थामा एउटै पदमा मात्र सर्वसम्मतिको प्रयास गर्नु उचित हुँदैन।
‘गगनजी मात्रै निर्विकल्प लिडर त होइन नि कांग्रेसको। हाम्रो पनि ४० वर्षभन्दा लामो लगानी यो पार्टीमा छ,’ उनले भने।
विशेष महाधिवेशनमा किन गएनन् राठौर?
गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनमा राठौर सहभागी भएका थिएनन्। त्यसबेला पार्टीभित्रको विवादलाई थप चर्काउनुको सट्टा एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको धारणा थियो।
पार्टी कार्यालयहरूमा आक्रमण भएको, नेताहरू लखेटिएको र कुटपिटसम्मको अवस्था सिर्जना भएको परिस्थितिमा विशेष महाधिवेशनले विवाद समाधान गर्नुको सट्टा थप विभाजन ल्याउन सक्ने उनको बुझाइ थियो।
त्यसैले उनले गगन थापानिकट नेतामार्फत पार्टीभित्रको विवाद थाती राखेर निर्वाचनमा केन्द्रित हुन प्रस्ताव पठाएको बताए । थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै कांग्रेस एकताबद्ध भएर चुनावमा जानुपर्ने उनको प्रस्ताव थियो।
‘पार्टीभित्र अहिले झगडा गर्ने बेला होइन, मिलेर जाऊँ भनेर मैले गगन थापाजीकै निकटमार्फत प्रस्ताव पठाएको हो,’ राठौरले भने।
विशेष महाधिवेशनमा सहभागी नभए पनि उनले कांग्रेस छाडेनन्। निर्वाचन आयोग र अदालतबाट गगन थापा नेतृत्वको पक्षले आधिकारिकता पाएपछि आफू मूल कांग्रेसमै रहेको उनको भनाइ छ।
देउवा समूहबाट अलग, आफ्नै बाटोमा राठौर
राठौर लामो समय शेरबहादुर देउवानिकट रहेर राजनीति गरेका नेता हुन्। करिब ३५ वर्ष देउवाको साथमा राजनीति गरेको भए पनि गत माघदेखि आफूले उक्त समूह छाडेको उनले बताए ।
गगन थापा नेतृत्वको कांग्रेसले पार्टीको चुनाव चिह्न र झण्डा पाइसकेपछि आफूले देउवाको साथ छाडेको उनको भनाइ छ।
तर आफू कुनै अर्को समूहको पछि लागेको भन्ने दाबीलाई उनले अस्वीकार गरेका छन्।
‘मैले कांग्रेस पार्टी छोडेको छैन, चारतारे झण्डा र रुख चिह्न छोडेको छैन,’ उनले भने, ‘म कसैका पछि लागेको होइन। म स्वयं आफैँ नेता हुँ। कसैका पछि लाग्नुपर्ने के जरुरी छ र?’
तीन एजेन्डामा जोड
राठौरले पार्टीभित्र आफ्नो अभियानलाई मुख्यतः तीन विषयमा केन्द्रित गर्ने बताएका छन्। उनका अनुसार पार्टी एकता, कार्यकर्तालाई न्याय र संगठनमा अनुशासन उनका प्रमुख एजेन्डा हुन्।
उनले कांग्रेसभित्र लामो समयदेखि घात–अन्तर्घातको संस्कार मौलाएको दाबी गरेका छन्। बहुदलीय व्यवस्था पुनःस्थापनापछि राजनीतिलाई पद, पैसा र शक्तिसँग जोड्ने प्रवृत्तिप्रति पनि आफू असहमत रहेको उनले बताए।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा पार्टी सञ्चालनका कतिपय विषयमा आफूले असहमति राखेको स्मरण गर्दै उनले गलत राजनीतिक संस्कारविरुद्ध निरन्तर आवाज उठाउँदै आएको दाबी गरे।
‘म जति राजनीति गर्छु, गलत प्रवृत्ति र गलत संस्कारविरुद्ध लड्छु,’ उनले भने।
दुई कांग्रेस मिलाउनुपर्नेमा जोड
कांग्रेस अहिले विभाजित अवस्थामा रहेको उल्लेख गर्दै राठौरले दुवै पक्षलाई एक ठाउँमा ल्याउनुपर्ने बताएका छन्। शेरबहादुर देउवा समूहले समेत मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेका बेला पार्टी विभाजनलाई निरन्तरता दिन नहुने उनको धारणा छ।
उनका अनुसार संवाद, छलफल र सामूहिक निष्कर्षमार्फत कांग्रेसलाई पुनः एकताबद्ध गर्न आवश्यक छ।
वामपन्थी दलहरूबीच एकताको प्रयास भइरहेका बेला कांग्रेस दुई धारमा विभाजित भएर निर्वाचनमा गए त्यसले पार्टीलाई क्षति पुग्न सक्ने उनले चेतावनी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले समेत दबाब बढाइरहेको अवस्थामा कांग्रेसले आफ्नो संगठन र राजनीतिक शैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
‘कांग्रेस पुरानो ढर्रा र पुरानो शैलीबाट अगाडि बढ्न सक्दैन,’ राठौरले भने, ‘नयाँ सोच, नयाँ कार्यशैली र नयाँ जीवनशैलीको आवश्यकता छ।’




प्रतिक्रिया