गोलबजारमा जातीय विद्वेष र आगजनीको आरोपमा तीन जना पक्राउ, स्वतन्त्र नागरिक अभियानको आपत्ति


काठमाडौं । सिरहामा हिन्दु र मुस्लिम समुदायबीच भएको धार्मिक द्वन्द्वपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको विषयमा स्वतन्त्र नागरिक अभियानले आपत्ति जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत साउन १४ गते गोलबजारमा भएको साम्प्रदायिक दंगा, आगजनी, हुलदङ्गा तथा जातीय विद्वेष फैलाएर शान्ति भंग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।


तीन दिनअघि सिराहका मिथुन दास भनिने रुपेन्द्र दास, काशिन्द्र यादव र सञ्जय यादवलाई पक्राउ गरेको हाे । पक्राउ परेका व्यक्तिमाथि मुद्दा चलाइएको भन्दै अभियानले गृहमन्त्री सुधन गुरुङको पहलमा भएको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेको छ।


रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै धार्मिक गुरु पुष्पराज पुरुषले तीन जना हिन्दु अभियन्ताको पक्राउ निन्दनीय भएको बताए। उनले गृहमन्त्रीसँग भएको वार्ताअनुसार सरकारले सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
‘भिडियो हेर्दै हिन्दुलाई थुन्ने काम राम्रो होइन,’ उनले भने, ‘राज्यले निष्पक्ष व्यवहार देखाउनुपर्छ। निष्पक्ष व्यवहार नभए आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ।’


उनले हिन्दु–मुस्लिमबीच भएको द्वन्द्वमा हिन्दुलाई मात्रै कारबाही गरिएको दाबी गर्दै राज्यले सबै समुदायप्रति समान व्यवहार गर्नुपर्ने बताए। हिन्दुविरोधी गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै उनले क्रिश्चियन र मुस्लिम समुदायप्रति सम्मान रहेजस्तै हिन्दु समुदायलाई पनि सम्मान गर्न आग्रह गरे।


सुनसरीको देवानगञ्ज घटनालाई स्मरण गर्दै उनले कुनै समुदायको गतिविधिले असर परे प्रहरीमा उजुरी गर्नुपर्ने बताए। ‘आफैंले हतियार लिएर हान्ने काम गर्नु हुँदैन,’ उनले भने।


अर्थविद् शम्भु पोखरेलले सरकारले घटनाको सूक्ष्म अध्ययन गरी द्वन्द्व नियन्त्रणका लागि आवश्यक पहल गर्नुपर्ने बताए। उनले द्वन्द्व भएको क्षेत्रमा धार्मिक गुरुहरूको पहलमा मन्दिर र मस्जिद निर्माण तथा सामाजिक सद्भाव बढाउने काम गर्न आग्रह गरे।
अभियानका गण्डकी प्रदेश संयोजक राजेन्द्र खनालले किटानी जाहेरीका नाममा हिन्दु समुदायका व्यक्तिलाई पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाए। धर्मका नाममा राजनीतिक गन्ध आएको भए त्यसलाई नियन्त्रण गरी दोषीमाथि कारबाही गर्न गृहमन्त्रीसँग आग्रह गर्दै उनले पक्राउ गरिएकालाई रिहा गर्न सरकारसँग माग गरे।


अभियानका वरिष्ठ उपाध्यक्ष सुनिलकुमार कर्णले गृहमन्त्रीसँग भएको सहमतिको विपरीत पक्राउ तथा मुद्दा चलाउने काम भएको टिप्पणी गरे। उनले दुई समुदायबीच मेलमिलाप कायम गर्न सरकारसँग आग्रह गरे ।