देउवालाई थापाको निम्तो, घरमै पुगेर छाडियो निमन्त्रणा पत्र; महाधिवेशनमा आउलान्?


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा सहभागी हुन सभापति गगन थापाले निम्तो पठाएका छन्।

सभापति थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर सहमहामन्त्री योगेन्द्र चौधरीको नेतृत्वमा कांग्रेस टोली देउवा निवास पुगेको थियो। तर, टोलीले देउवासँग प्रत्यक्ष भेट गर्न भने पाएन।

सहमहामन्त्री चौधरीका अनुसार देउवा निवास पुग्दा पूर्वसभापति देउवा भेटका लागि उपलब्ध भएनन्। उनका स्वकीय सचिव भानु देउवासँग समेत सम्पर्क हुन नसकेपछि टोलीले निमन्त्रणा पत्र निवासमै छाडेर फर्किएको हो।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आइतबार हुँदैछ। पार्टीभित्रको पछिल्लो राजनीतिक विभाजन र नेतृत्व विवादका बीच पूर्वसभापति देउवालाई थापाले उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा निम्तो दिएका हुन्।

तर, निमन्त्रणा लिन प्रतिनिधि निवासमै पुगे पनि देउवासँग भेट हुन नसकेपछि अब उनी महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने चासो बढेको छ।