उर्मिला कंडेल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा


काठमाडौं । नेपाली कांग्रेसकी नेतृ उर्मिला कंडेलले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्। धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी कंडेलले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिने तयारीमा रहेकाे जानकारी दिइन् ।

कंडेलको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको हो। विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा प्रवेश गरेकी उनले पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी छन्।

उनी नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएकी थिइन्। त्यसपछि पार्टीको बागमती प्रदेश सदस्यको जिम्मेवारीसमेत सम्हालेकी कंडेल अहिले १५औँ महाधिवेशनका लागि धादिङबाट महाधिवेशन प्रतिनिधि बनेकी छन्।

लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएकी कंडेलले अब केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका बढाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेकी हुन्।

विद्यार्थी राजनीतिबाट सुरु भएको आफ्नो राजनीतिक यात्रालाई पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने लक्ष्यसहित उम्मेदवारी अघि बढाएको उनको भनाइ छ।

कंडेलले पार्टीमा महिला सहभागिता, संगठन सुदृढीकरण तथा कार्यकर्ताको भूमिका बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर आफ्नो राजनीतिक अभियान अघि बढाउने बताएकी छन्।