काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताका नेताहरूबाट पनि देश निर्माणको अपेक्षाअनुसार काम हुने संकेत नदेखिएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले विगतमा पुरानो पुस्ताले देश बिगारेको आरोप लाग्ने गरेको भए पनि अहिले नेतृत्वमा आएका युवाहरूले समेत अपेक्षाकृत परिवर्तनको अनुभूति गराउन नसकेको बताए।
उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्दै आफूले उनलाई विश्वास गर्ने भए पनि अहिलेको पुस्ताको नेतृत्वप्रति अझै आशंका रहेको बताए।
“गगनजी, तपाईं आज संयोगले अगाडि हुनुहुन्छ। म त तपाईंलाई विश्वास गर्ने मान्छे, दुःख माने मान्नुस्, नमाने नमान्नुस्। हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे,” चौधरीले भने, “अहिले कैला जुँगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्।”
यद्यपि, अब गगन थापासहितको पुस्ताले देश निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने विश्वास भने उनले व्यक्त गरे।
“अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ,” चौधरीले भने।




प्रतिक्रिया