नयाँदिल्ली, १८ असोज । भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मतदाता नामावलीको व्यापक पुनरवलोकनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै अनियमितताको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि आन्दोलन गरिरहेका छन् ।
निर्वाचन आयोगले मतदाता सूचीमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ । आयोगका प्रमुख कुमारले भने यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
शनिबार नयाँ दिल्लीस्थित सरकारद्वारा तोकिएको प्रदर्शनस्थल जन्तर मन्तर आसपास प्रहरीले दर्जनौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा केही महिला पत्रकारले प्रहरी अधिकारीहरूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएका हुन् ।
दिल्ली प्रहरीले विज्ञप्ति जारी गर्दै तीन महिला पत्रकारबाट यौन दुर्व्यवहारको उजुरी प्राप्त भएको पुष्टि गरेको छ । प्रहरीले घटनाबारे निष्पक्ष र तटस्थ छानबिन गरिने जनाएको छ सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा एक उजुरीकर्ताले एक प्रहरी अधिकारीले आफूलाई धकेल्नुका साथै अनुचित रूपमा छोएको आरोप लगाएकी छन् ।
राजधानीमा आइतबार पनि विरोध प्रदर्शन जारी रहने कार्यक्रम छ । आन्दोलनमा वामपन्थी समूहहरू र ‘कक्रोच जनता पार्टी’ (सिजेपी) का समर्थकहरू पनि सहभागी हुँदैछन् । व्यङ्ग्यात्मक अनलाइन अभियानका रूपमा स्थापना भएको सिजेपीले मे महिनामा तत्कालीन शिक्षामन्त्रीलाई पदबाट हटाउने अभियान सञ्चालन गरेको थियो । सिजेपीका प्रमुख अभिजित दिपकेले शनिबार प्रहरीको धरपकडको आलोचना गर्दै आरोपित प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
वामपन्थी विद्यार्थी नेतृ नेहा बोराले प्रदर्शनकारीहरूलाई नयाँदिल्लीको इन्डिया गेटसम्म मार्च गर्न आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत “सडकदेखि आन्दोलनसम्म महिलाहरू सुरक्षित छैनन्” भन्दै सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।
विपक्षी दलहरूले निर्वाचन आयोग प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को प्रभावमा काम गरिरहेको आरोप लगाएका छन् । उनीहरूले मङ्गलबार निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र त्यसपछि देशभर ‘लोकतन्त्र बचाउ’ अभियानअन्तर्गत विरोध कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।
यसैबीच, सिजेपीले आगामी १० अक्टोबरमा नयाँ दिल्लीमा ‘युवा भारतीयहरूको व्यापक परिचालन’ का लागि आह्वान गरेको छ । रासस




प्रतिक्रिया