स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न पुसदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य


काठमाडौँ ।  स्वास्थ्य बीमा बोर्डले पुस १ गतेदेखि बीमामा  नयाँ आबद्धता हुन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। 

बोर्डको असोज १२ गते बसेको बैठकले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्रको व्यवस्था लागू हुने निर्णय गरेको हो। 

पुस १ गतेदेखि सम्पूर्ण बीमित परिवारले (एचआइबी ई पोर्टल)  मार्फत आफ्नो विवरण अद्यावधिक समेत गर्ने निर्णय बोर्डले गरेको छ।

‘यसबाट बीमितको पहिचान सुनिश्चित हुने, दोहोरो आबद्धता नियन्त्रण हुने, केवाईसी अपडेट प्रभावकारी हुने र दाबी व्यवस्थापन विश्वसनीय हुने अपेक्षा गरिएको छ,’ बीमा बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक, लागत प्रभावकारी र दिगो बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको जनाएको छ। 

‘उक्त कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट, सम्झौताको आधार, सेवाको वर्गीकरण र भुक्तानी विधिसहितको प्रतिवेदन ६० दिनभित्र पेस गर्नुपर्नेछ’, सूचनामा उल्लेख गरिएको छ। 

यसबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, सेवा गुणस्तर, लागत नियन्त्रण, दाबी व्यवस्थापन हुने अपेक्षा बोर्डको छ।