अमरेशको गगनमाथि कटाक्ष : ‘वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिनुस्’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापामाथि कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सिंहले थापालाई व्यंग्य गर्दै कांग्रेस छाडेर नयाँ दलमा पुगेका नेताहरू रहरले नभई कांग्रेसभित्रको विकृति र नेतृत्वको कार्यशैलीका कारण बाहिरिन बाध्य भएको दाबी गरेका छन्।

सिंहले कांग्रेसको जिम्मेवारी ‘ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा’ पुगेपछि पार्टीका नेता तथा सांसदहरू बाहिरिएको आरोप लगाएका छन्।

उनले लोकतन्त्रका लागि संघर्ष गरेको पार्टी भएको भन्दै कांग्रेसले विगतको इतिहासमा मात्र गर्व गरेर नपुग्ने बताएका छन्। लोकतन्त्रका लागि लडेको पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याउने जिम्मेवारी पनि वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ छ।

सिंहले लेखेका छन्, ‘इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ।’

त्यस्तै, लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने तर त्यही पार्टीको जग आफैँ कमजोर बनाउने काम भइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘योभन्दा ठूलो विडम्बना अरू के होला ?’