सरकारले तीन अध्यादेश ल्याउँदै, राष्ट्रपतिसमक्ष सिफारिस


काठमाडौं । सरकारले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन, वनसम्बन्धी केही नेपाल ऐन संशोधन र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार पछिल्लो समयको भोटेकोशी बाढी तथा विपद्को अवस्थालाई समेत ध्यानमा राखेर विपद्सम्बन्धी कानुन संशोधन गर्न लागिएको हो।

सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने विद्यमान कानुनी व्यवस्थामा समेत संशोधनको तयारी गरेको छ। हाल १२ वर्षसम्म बेपत्ता रहेको व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकामा उक्त अवधि घटाउने गरी कानुन संशोधन गर्न लागिएको प्रवक्ता पोखरेलले बताए।

तीनवटै अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि संशोधित व्यवस्था कार्यान्वयनमा आउनेछ।