सर्वोच्चका न्यायाधीश सिफारिशमा डा. रत्नबहादुर बागचन्द यसरी भयाे सर्वसम्मत


काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको चार न्यायाधीशको नाम सिफारिश गर्दा अधिकांश नाममा विवाद भयो । तर, डा. रत्नबहादुर बागचन्दको नाममा सर्वसम्मति देखियो । यसको कारण हो बागचन्दको क्लिन छवि र कार्यक्षमता ।

बागचन्दको नाममा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान दुवैमा मतैक्यता रह्यो । उनी विगतमा नै सर्वोच्चको न्यायाधीश सिफारिश हुनुपर्नेमा पटक पटक रोकिएका थिए । तर, यसपटक उनको कार्यक्षमता र योगदानको कदर भएको विश्लेषण भएको छ ।

बागचन्दले देशका १० वटा उच्च तहका अदालतहरुमध्ये सबैभन्दा बढी ११ वटा अदालतमा न्यायाधीशको रुपमा अनुभव प्राप्त छन् । तीमध्ये सातवटा अदालतहरुको मुख्य न्यायाधीशको जिम्मेवारी बहन गरिसकेका न्यायाधीश हुन् ।

न्यायाधीशको रूपमा सेवाप्रबाह गरिरहँदा २०७५ सालमा फैसला कार्यान्वयन प्रणालीदेखि वैदिक न्यायव्यवस्था विषयमा विद्यावारिधि गरे ।अमेरिकाको क्लार्क विश्वविद्यालयबाट सन् २००९ मा स्नातकोत्तर गरेका छन् । सन् २००१ मा डेनमार्कबाट मानव अधिकार विषयमा स्तानक गरेका छन् । सन् १९९३ मा एलएलबी गरेका उनीसँग लामो न्यायिक र कानूनी अनुभव छ ।

बागचन्दका साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण, संविधान, फौजदारी न्याय, मानवअधिकार, न्यायिक सुधारलगायतमा लेख रचनाहरु प्रकाशित गरेका छन् ।

भारत सरकारबाट सन् २००५ मा डा अम्बेडकर एक्सिलेन्सी अवार्ड प्राप्त गरिसकेका उनलाई प्रथम राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री समेत प्राप्त छ ।

२०६६ सालमा पहिलो पटक पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्ति भएका बागचन्दले न्यायाधीश भएको सातौं महिनामा जिल्ला अदालतको फैसला उल्ट्याई गरेको फैसला सर्वोच्च अदालतबाट सदर भै नजिर कायम रहेको छ ।

गत १३ वर्षदेखि साइबर अपराधका मुद्दामा अनुसन्धान, अभियोजन र न्याय निरूपणमा सरकारी वकिल, कानुन ब्यवसायी र न्यायाधीशहरूको क्षमता अभिवृद्धिको कार्यमा पनि उत्तिकै योगदान गरिरहेका छन् । उनको ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरूपण’ सम्बन्धी पुस्तक न्यायिक विषय समेटिएको नेपालमैं पहिलो पुस्तक प्रकाशित छ।

न्यायाधीश नियुक्त भएपछि हालको न्यायाधीशको उमेरहदका आधारमा डा. बागचन्द्र अबको ८ वर्ष सर्वोच्चको न्यायाधीशका रुपमा रहनेछन् ।