दिल्लीमा अरविन्द केजरीवालसहित विपक्षी नेता पक्राउ


नयाँदिल्ली । भारतको नयाँदिल्लीमा निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारविरुद्ध प्रदर्शन गर्ने क्रममा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई प्रहरीले हिरासतमा लिएको छ।

दिल्लीस्थित केरल भवनबाहिर प्रदर्शन गरेपछि केरलका पूर्वमुख्यमन्त्री पिनराई विजयन, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का सांसद जोन ब्रिटासलगायत नेताहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सांसद ब्रिटासले आफूहरूलाई कहाँ लैजान लागिएको हो भन्ने जानकारी नदिई विभिन्न स्थानमा घुमाइएको आरोप लगाएका छन्। प्रहरीले केही समय छत्रसाल स्टेडियममा राखेर पुनः अन्यत्र लैजान थालेको उनले बताएका छन्।

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग र निर्वाचन प्रक्रियासम्बन्धी विवादलाई लिएर भएको प्रदर्शनपछि दिल्लीमा राजनीतिक तनाव बढेको छ। यसअघि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसहित अन्य विपक्षी नेताहरू पनि प्रहरी नियन्त्रणमा परेका थिए।