‘भुटानी शरणार्थीको समस्या जटिल बन्दै गयो, दीर्घकालीन समाधान खोजियोस्’ : डा. कुमार गुरुङ


काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका पूर्व भुटानी शरणार्थी डा. कुमार गुरुङले नेपालमा रहेका भुटानी शरणार्थीको समस्या जटिल बन्दै गएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले शिविरका शरणार्थीहरू विभिन्न मौलिक अधिकार र मानवीय सहायताबाट वञ्चित हुनुपरेको गुनासो गरे।

पथरी शनिश्चरे र बेलडाँगी शिविरको स्थलगत अवलोकनको अनुभव सुनाउँदै डा. गुरुङले भने, ‘शिविरमा पहिलेको जस्तो खाद्यान्न उपलब्ध छैन। उनीहरूलाई काम गर्ने वैधानिक अधिकारसमेत दिइएको छैन। राष्ट्रिय परिचयपत्र नभएका कारण सवारीचालक अनुमतिपत्र बन्न सकेको छैन। रोजगारी पाउने अवस्था छैन ।’

उनले स्वास्थ्य उपचारका क्रममा समेत शरणार्थीहरूले सास्ती भोग्नुपरेको बताए। ‘शिविरमा मेडिकल इन्सुरेन्सको व्यवस्था भए पनि गम्भीर प्रकृतिको उपचार गर्दा राष्ट्रिय परिचयपत्र मागिन्छ, जुन शरणार्थीहरूसँग छैन,’ उनले भने। त्यस्तै, भुटानमा रहेका आफ्ना आफन्तलाई जेलमा भेट्न जाँदा परिचयपत्रको अभावमा भारतले समेत प्रवेशमा रोक लगाउने गरेको उनको भनाइ छ।

स्थानीय स्तरमा समस्या समाधानका लागि मानवअधिकारकर्मी, जनप्रतिनिधि र स्थानीय प्रशासनसँग छलफल गर्दा सकारात्मक प्रतिक्रिया पाए पनि गृहमन्त्रालयको अनुमति अनिवार्य गरिएको उनले जानकारी दिए।
‘त्यसपछि हामीले पाँचजना मन्त्रीलाई भेटेर छलफल गर्यौँ। गृहमन्त्री सुधन गुरुङले मन्त्रालयभित्र शरणार्थी हेर्ने विभागका अधिकारीहरूलाई बोलाएर जतिसक्दो छिटो समस्या समाधान गर्न निर्देशनसमेत दिनुभएको छ,’ डा. गुरुङले भने।

साथै, उनले भुटानी शरणार्थीहरूको दीर्घकालीन समाधानका लागि नेपाल सरकारसँग जोडदार माग गरे। शरणार्थीहरूको चाहना फरक–फरक रहेको स्पष्ट पार्दै उनले भने, ‘शरणार्थीमध्ये कोही तेस्रो मुलुकमा पुनर्बास, कोही नेपालमै र कोही आफ्नै देश भुटान फर्कन चाहन्छन्। नेपाल सरकारले यसको दीर्घकालीन निकासका लागि पहल गरिदिनुपर्छ ।