काठमाडौं । दसैँमा खाना पकाउने ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका ६ स्थानबाट एलपी ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था गरिएको छ। तर, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने भनिए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साट्ने गरेको उपभोक्ताले गुनासो गरेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार घटस्थापनादेखि फूलपातीसम्म सञ्चालन हुने यो व्यवस्थामा उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन्। यसका लागि अतिरिक्त शुल्क लाग्ने छैन, तर ग्यासको निर्धारित मूल्य भने तिर्नुपर्नेछ।
संघले कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योग, बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट सेवा उपलब्ध गराएको जनाएको छ।
यी केन्द्रबाट बिहान ९ः३० देखि अपराह्न ४ बजेसम्म ग्यास वितरण तथा सिलिन्डर साट्न सकिनेछ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा व्यवस्था मिलाइएको हो।
संघका अध्यक्ष दिवान चन्दले चाडपर्वका बेला उपभोक्तालाई ग्यास सहज रूपमा उपलब्ध गराउन एक साताका लागि यस्तो व्यवस्था गरिएको बताए। उनका अनुसार बजारमा ५८ वटा ग्यास उद्योगका विभिन्न ब्रान्डका सिलिन्डर प्रचलनमा छन्। फरक कम्पनीको सिलिन्डर साट्दा अतिरिक्त रकम तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै उपभोक्तालाई राहत दिने उद्देश्य रहेको उनले बताए।




प्रतिक्रिया