काठमाडौँ। पहिरोका कारण थुनिएको बूढीगण्डकी नदी एकाएक खुलेपछि आएको भीषण बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि लेदो तथा गेग्रानसहितको बाढीले नदी तटीय क्षेत्रमा थप त्रास सिर्जना गरेको छ।
घटना लगत्तै प्रभावित क्षेत्रमा खोज, उद्धार तथा सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाली सेनाको टोली स्थलमार्ग र हवाईमार्ग दुवैतर्फबाट परिचालन गरिएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पहिरोको उच्च जोखिममा परेको चुमनुब्रीको जगत् गाउँबाट ६ जना नागरिकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।
गोरखाको चुमनुब्री गाउँपालिका–३, फिलिममा आइतबार बिहान पहिरो खसेर थुनिएको नदी अचानक भरिएर बाढीसहित बग्न थालेको थियो ।
स्थिति नियन्त्रण र द्रुत उद्धारका लागि काठमाडौँबाट सेनाको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ समेत हवाईमार्फत घटनास्थलमा तैनाथ भइसकेको छ।
यसैबीच, बूढीगण्डकीको बाढी त्रिशूली नदी हुँदै नारायणीसम्म आइपुग्ने भएपछि धादिङ, चितवन र नवलपरासी जिल्लाको तटीय क्षेत्रमा सतर्कता ह्वात्तै बढाइएको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेकाले स्थानीयलाई तत्काल सुरक्षित उच्च स्थानतर्फ लाग्न अपिल गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूली र नारायणी किनारका बस्तीहरूमा माइकिङ गरी सर्वसाधारणलाई सजग गराइएको छ। प्रशासनले देवघाटमा शव दाह गर्नेहरूलाई उच्च ठाउँ प्रयोग गर्न, नारायणी किनारमा ठेला तथा रिक्सा व्यापार नगर्न र माछा मार्ने वा पौडी खेल्ने जस्ता कार्य नगर्न कडा निर्देशन दिएको छ।




प्रतिक्रिया