काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षामा सक्रिय हुन सबैलाई आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रचण्डले बाढीका कारण चुमनुब्री, धार्चे र आरुघाटलगायत क्षेत्रमा ठूलो क्षति पुगेको खबरले आफू मर्माहत भएको बताएका छन्। बाढीले पुल तथा घरहरू बगाएको खबरप्रति दुःख व्यक्त गर्दै उनले प्रभावितको उद्धार र राहतलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।
उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहनसमेत अनुरोध गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सबै पक्ष सक्रिय हुनुपर्नेमा प्रचण्डले जोड दिएका छन्।




प्रतिक्रिया