काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत देउवाले बाढीले नदी तटीय क्षेत्रमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। बाढीका कारण भौतिक संरचनामा क्षति पुग्नुका साथै स्थानीयको जनजीवन प्रभावित भएको घटनाप्रति उनले सहानुभूति प्रकट गरेका हुन्।
बाढीको जोखिमलाई ध्यानमा राख्दै देउवाले बूढीगण्डकी र त्रिशूली नदी किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
‘विपद्को यो कठिन समयमा बाढी प्रभावित क्षेत्रका जनताको उद्धार र राहतका लागि पार्टीका साथीहरूले तत्कालै सक्रिय भएर सहयोग गर्नुपर्छ,’ उनले लेखेका छन्।
लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढिरहेकाले स्थानीय प्रशासनले पनि नदी किनारका बासिन्दालाई सतर्क रहन र नदीको तटीय क्षेत्रमा नजान आग्रह गरेको छ।




प्रतिक्रिया