गोरखा । बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि आवागमन सहज बनाउन बेलिब्रिज निर्माणको तयारी थालिएको छ।
गोरखा सडक योजनाका अनुसार बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याउने प्रक्रिया अघि बढाइएको छ। सामग्री आइपुगेपछि तत्काल निर्माण कार्य सुरु गरिने कार्यालयले जनाएको छ।
गोरखा सडक योजनाका प्रमुख विनोद पुनले हेटौँडाबाट बेलिब्रिजका सामग्री ल्याउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार सम्भवतः भोलिसम्म सामग्री आइपुग्नेछ र त्यसलगत्तै निर्माण कार्य अघि बढाइनेछ।
यसैबीच, बेलिब्रिज निर्माणका लागि नेपाली सेनाको टोली पनि कार्यक्षेत्रमा खटिएको छ। रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार निर्माणस्थलको प्रारम्भिक निरीक्षण (रेक्की) गर्न टोली परिचालन भइसकेको छ।
आवश्यक सामग्री प्राप्त हुनासाथ निर्माण कार्य सुरु गरिने रिजालले बताए।




प्रतिक्रिया