काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सक्रिय राजनीतिबाट विदा लिने तयारीमा रहेकाे बताएका छन् ।
शनिबार प्राइम टेलिभिजन एचडीको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा प्रस्तोता ऋषि थपलियासँगको संवादका क्रममा उनले यस्तो बताएका हुन्। थपलियाले ‘राजनीतिबाट कहिले विश्राम लिनुहुन्छ?’ भनी सोधेको प्रश्नको जवाफ दिँदै उनले महाधिवेशनसम्म आफू पार्टीमा रहनुपर्ने बताए।
‘अब विश्राम लिने समय आउँदैछ । महाधिवेशनसम्म त बस्नैपर्यो । महाधिवेशनपछि के गर्ने भन्ने सन्दर्भमा म त आफ्नो तर्फबाट बिदा लिने पक्षमा छु,’ उनले भने ।
आफूले राजनीतिबाट विदा लिने इच्छा व्यक्त गरे पनि पार्टीका साथीहरूले भने तत्काल त्यस्तो घोषणा नगर्न आग्रह गरिरहेको नेपालले बताए । ‘साथीहरूले यो नबोल्नुस् भन्नुहुन्छ । तपाईंकै भरोसामा हामी चलिरहेका छौँ । अर्को विकल्प तयार नभएसम्म तपाईं यो बोल्ने काम नगर्नुस्,’ उनले भने ।
नेपालले आफूले भने पार्टीमा अर्को विकल्प तयार गर्नुपर्नेमा जोड दिँदै आएको बताए । सक्रिय राजनीतिबाट अलग भएपछि सल्लाहकारका रूपमा रहेर आराम गर्ने चाहना रहेको उनको भनाइ छ ।




प्रतिक्रिया