बूढीगण्डकी बाढी: कहाँ–कहाँ क्षति पुर्‍यायाे ?(सूचिसहित)


काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आइतबार बिहान लेदो र गेग्रानसहितको विनाशकारी बाढी आएको छ। बाढीले जिल्लाका विभिन्न स्थानमा घर, पुल, विद्युत् पोल, टेलिफोन टावर तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही क्षेत्रमा एउटा घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

त्यसैगरी, धार्चे गाउँपालिका–५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचनासहित आसपासका सातदेखि आठवटा घर बगाएको प्राधिकरणले जनाएको छ।

बाढीले आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलमा समेत क्षति पुर्‍याएको छ। तीन भागमा रहेको उक्त पुलको गोरखातर्फको एउटा भाग बगेको छ। यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल पनि बाढीले बगाएको छ।

माछिखोलाको तल्लो बस्तीमा बाढी पसेपछि स्थानीयवासी जोखिममा परेका छन्। उक्त क्षेत्रमा २० देखि २२ वटा घर जोखिममा रहेको प्राधिकरणले जनाएको छ।

बाढीले बूढीगण्डकी ३४१ मेगावाट जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र तथा केही निर्माण उपकरणसमेत बगाएको छ। यसका अतिरिक्त दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत् पोलमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाढीबाट थप क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले बूढीगण्डकी नदी आसपासका बासिन्दालाई आज साँझसम्म नदी किनार तथा जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

प्राधिकरणले जोखिमयुक्त पुल तथा सडक प्रयोग नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी निर्देशन अनिवार्य रूपमा पालना गर्नसमेत अनुरोध गरेको छ। नदीको बहाव र सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।