काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देश प्राकृतिक विपद्को विषम परिस्थितिमा रहेका बेला राजनीतिक आरोप-प्रत्यारोप छाडेर सबै दल तथा सरोकारवाला निकाय एकजुट भई राहत र उद्धारमा जुट्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले आज बूढीगण्डकी नदीमा आएको बाढीले धादिङ र गोरखामा ठूलो क्षति पुर्याएको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए। भोटेकोशी-त्रिशूली बाढीले ठूलो धनजनको क्षति पुर्याएको दुई महिना पनि नहुँदै बूढीगण्डकीले उस्तै खाले विपद् निम्त्याएको धमलाको भनाइ छ ।
‘आज घटस्थापनाका दिन एकातिर चाडपर्वको शुभकामना दिनुपर्ने अवस्था छ भने अर्कोतिर बूढीगण्डकीको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ,’ आफ्नै जन्मथलो धादिङसमेत प्रभावित भएको उल्लेख गर्दै धमलाले भने, ‘जिल्लाबासी पीडामा हुँदा म पनि स्तब्ध छु। बाढीले दुईवटा ठूला पक्की पुल, चारवटा झोलुङ्गे पुल, सडक संरचना र स्थानीय बजार नै बगाएर ठूलो क्षति पुर्याएको छ।’
अध्यक्ष धमलाले विपद्को घडीमा सरकार वा सुरक्षाकर्मीको आलोचना गरेर उनीहरुको मनोबल गिराउन नहुने धारणा राखे। ‘सरकारले उद्धारमा काम गरिरहेको छ। प्रधानमन्त्री बालेन शाहले बिहानैदेखि उद्धारको पहल गर्नुभएको छ भने गृहमन्त्री सुधन गुरुङ र सुरक्षा निकाय पनि खटिएका छन्’, उनले थपे, ‘अहिले सरकारको आलोचना गरेर समय खेर फाल्ने बेला होइन।’
जलवायु परिवर्तनका कारण नेपालमा डेढ महिनाको अन्तरमा यस्ता ठूला प्राकृतिक विपद् दोहोरिन थालेको बताउँदै उनले क्षति न्यूनीकरण र दीर्घकालीन समाधानमा लाग्नुपर्नेमा जोड दिए।
आफ्नो संस्था स्वतन्त्र नागरिक अभियानका तर्फबाट गोरखा, धादिङ, रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पुगेर नागरिकका समस्या सुन्ने र समाधानका लागि सरकारलाई खबरदारी गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
यस्तै, दशैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरु सडक अवरुद्ध हुँदा तीन दिनदेखि बाटोमै अड्किनुपरेको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनले काठमाडौँ-तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को काम चाँडो सम्पन्न गर्न आग्रह गरे।
‘फास्ट ट्रयाक छिटो बने आगामी वर्षायाममा सर्वसाधारणले यस्तो सास्ती खेप्नु पर्दैनथ्यो,’ उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र प्रधानमन्त्री बालेन शाहलाई फास्ट ट्रयाकको निर्माण कार्य द्रुत गतिमा अघि बढाउन अपिल गर्दै भने, ‘विषम परिस्थितिमा सबै राजनीतिक दलहरु पूर्वाग्रहबाट माथि उठेर एकजुट हुनुको विकल्प छैन। फास्ट ट्रयाक अबको ६ महिनाभित्र बनाउनैपर्छ ।’




प्रतिक्रिया