काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण भइरहेको बताएका छन् । पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफ्नै निकट ठानिएका व्यक्तिहरूबाट समेत धोका पाएको टिप्पणी गरे ।
उनले आफूलाई ‘कमरेड’ भन्दै नजिकिने व्यक्तिले नै पछाडिबाट छुरा हान्ने गरेको उल्लेख गरे ।
‘आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, तर ग्याम्म छुरी हान्छ । यो पनि देखियो । कता जोगिने, कता नजोगिने ?’ उनले भने ।
आफू अझै कमजोर नभएको बताउँदै ओलीले जस्तोसुकै चुनौती आए पनि पछि नहट्ने दृढता व्यक्त गरे । उनले भीष्म पिताको प्रसंग उल्लेख गर्दै आफू त्यति वृद्ध नभइसकेको र अनेक प्रहार भए पनि नढल्ने बताए ।
ओलीले आफूले ५७ वर्षअघि नै कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियानमा सक्रियता सुरु गरेको स्मरण गरे । राजनीतिक यात्राका क्रममा जेल जीवन बिताउनुपरेको तथा विभिन्न आरोप र मुद्दाहरूको सामना गर्नुपरेको पनि उनले बताए ।
देश र जनताको हितका लागि आफूले निरन्तर काम गर्दै आएको दाबी गर्दै ओलीले जीवनभर अन्याय र विरोधका सामु नझुक्ने प्रतिबद्धता जनाए ।
‘म मर्ने इच्छा गर्दिनँ, इच्छा मरण चाहिँदैन । बाँचुन्जेलसम्म वैरीसामु झुकिँदैन । देशका लागि लडिन्छ । मलाई चिन्ता छैन, किनभने मैले आफ्नो लागि काम गरेको होइन, सधैँ देश र जनताका लागि काम गरेको छु,’ उनले भने ।




प्रतिक्रिया