रूपन्देही, २६ असोज । दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई केन्द्रित गरेर बुटवल बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यात्रुलाई सुरक्षित यात्रा गर्न सहयोग पुर्याउने, सम्भावित ठगी नियन्त्रण गर्ने र ट्राफिक नियमको पालना गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालयले विभिन्न यातायात व्यवसायी संस्थासँगको सहकार्यमा सहायता कक्ष सञ्चालन गरेका हुन् । यसमा पश्चिम नेपाल बस व्यवसायी प्रालि, बुटवल यातायात प्रालि, सिद्धार्थ, श्रीनगर, गुल्मी जिप तथा देउराली यातायातको सहकार्य छ ।
सहायता कक्षको शुभारम्भ गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले नागरिकलाई सहज सेवा प्रदान गर्न प्रहरी र समुदायबीचको समन्वय आवश्यक रहेको बताए । उनले सहायता कक्षबाट यात्रुको समस्या समाधान, सडक सुरक्षासम्बन्धी जानकारी र ट्राफिक नियम पालनाबारे सचेतना अभिवृद्धि गरिने जानकारी दिए।
उनका अनुसार सवारीसाधनको गति सीमित राख्ने, अनावश्यक हर्न नबजाउने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा यात्रु र चालकलाई सचेत गराइनेछ । यात्राका क्रममा समस्या परेका नागरिकलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराइने उनले बताए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बुटवल बसपार्कको भौतिक तथा व्यवस्थापकीय सुधार अपेक्षाअनुसार हुन नसकेको बताए । “उज्यालो र सफा बसपार्क बनाउने विषयमा धेरै कुरा भए पनि अपेक्षाअनुसार सुधार गर्न सकिएको छैन”, उनले भने ।
उनले यात्रु ठगी रोक्न बसपार्कमा कार्यरत कर्मचारीको परिचय खुल्ने गरी आवश्यक व्यवस्था गरिएको र टिकट काउन्टरबाट मात्रै टिकट खरिद गर्नुपर्ने प्रबन्ध मिलाइएको बताए ।
सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै उनले नियम उल्लङ्घन गर्नेमाथि प्रभावकारी अनुगमन र कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरे ।
यात्रुको सुरक्षा, ट्राफिक सचेतना र यात्राका क्रममा आइपर्ने समस्यामा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको नागरिक सहायता कक्ष आगामी कात्तिक ३ गतेसम्म सञ्चालन गरिने जनाइएको छ ।




प्रतिक्रिया