पराजयले रूपान्तरणको संकल्प कमजोर बनाएको छैन : डा. सुनिल शर्मा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेका डा. सुनिल कुमार शर्माले निर्वाचनमा पराजित भए पनि पार्टी रूपान्तरण र जनसेवाप्रतिको आफ्नो प्रतिबद्धता यथावत् रहेको बताएका छन् ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई दिँदै शर्माले आफूलाई विश्वास गरेर मत दिने देश तथा विदेशबाट आएका प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले चुनावी परिणामले आफूलाई थप जिम्मेवार र दृढ भएर अघि बढ्न प्रेरित गरेको उल्लेख गरेका हुन् ।

‘निर्वाचनको परिणामले मेरो राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्पलाई कमजोर बनाएको छैन । बरु, यसले अझ परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रेरणा दिएको छ,’ शर्माले भनेका छन् ।

शर्माले आफ्नो उम्मेदवारी कुनै पद हासिल गर्ने उद्देश्यमा मात्र केन्द्रित नभई नेपाली कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने अभियानसँग जोडिएको बताएका छन् ।

उनले बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार राजनीतिमा जित र हार स्वाभाविक प्रक्रिया हुन्, तर जनताको सेवाप्रतिको जिम्मेवारी चुनावी परिणामले समाप्त हुँदैन ।

महामन्त्री पदको प्रतिस्पर्धाका क्रममा आफूलाई साथ दिने अग्रज, सहयात्री, साथी तथा शुभेच्छुकप्रति धन्यवाद दिँदै शर्माले उनीहरूको विश्वास र समर्थनलाई आफ्नो अमूल्य सम्पत्तिका रूपमा लिएको बताएका छन् ।

उनले पदमा रहेर वा नरहेर पनि देशका दूरदराजमा बसोबास गर्ने नागरिकको सेवामा समर्पित रहने बताएका छन् । कांग्रेसभित्र सकारात्मक परिवर्तन, संगठन सुदृढीकरण र जनउत्तरदायी राजनीतिक संस्कार विकासका लागि आफ्नो प्रयास जारी रहने उनको भनाइ छ ।

शर्माले आगामी दिनमा महाधिवेशनमा प्रतिस्पर्धा गरेका नेता, निर्वाचित पदाधिकारी तथा पार्टीका नेता–कार्यकर्तासँग सहकार्य गर्दै पार्टी र देशको हितमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।