काठमाडौं । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि छलफल गर्न बोलाइएको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा उजुरीकर्ताहरू अनुपस्थित भएका छन् । उजुरीकर्ताहरू अनुपस्थित भएपछि सुनुवाइ प्रक्रिया अघि बढाउनै चुनौती देखिएको छ ।
प्रस्तावित राजदूतविरुद्ध चार जनाले सातवटा उजुरी दिएका थिए । तर, समितिले छलफलका लागि बोलाउँदा अधिकांश उजुरीकर्ता उपस्थित नभएपछि थप प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको छ ।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार जापानका लागि प्रस्तावित राजदूत ज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध उजुरी दिने व्यक्तिहरू सम्पर्कमा आएका छैनन् । समितिले पटक–पटक प्रयास गर्दा पनि उनीहरू सम्पर्कमा नआएको उनले बताए ।
यता, भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेविरुद्ध उजुरी दिएकी दीपा भण्डारीले भने इमेलमार्फत आफू बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् । उनले आफ्नो उजुरी समितिमा पढेर सुनाउन आग्रह गरेकी छन् ।
बैठकमा सार्वजनिक सूचना प्रकाशनको समयसीमाबारे पनि छलफल भएको थियो । कानुनी व्यवस्थाअनुसार बिदापछिको सूचना गणनामा प्रभावकारी समय कम हुन सक्ने विषय उठेपछि समितिले आगामी कात्तिक ९ गते सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।
सभापति श्रेष्ठले प्रस्तावित राजदूतबारे नागरिकलाई जानकारी गराउन तथा उजुरी संकलन गर्न सरकारी सञ्चारमाध्यम र संसद् सचिवालयको वेबसाइटमा सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।




प्रतिक्रिया