मैले लाभ र पदका लागि कहिल्यै राजनीति गरिनँ : गोविन्द भट्टराई


काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले १५औँ महाधिवेशनमा आफूलाई मत दिने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् ।

उपसभापति पदका खुला उम्मेदवार भट्टराईले मत परिणामले पार्टीको जिम्मेवारी सम्हाल्ने यात्रामा अझ धेरै साथीहरूको विश्वास जित्न आवश्यक रहेको देखाएको बताएका छन् ।

‘१५औँ महाधिवेशनमा ममाथि विश्वास गरेर मत प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूप्रति अनुग्रहित छु,’ उनले भने, ‘तपाईंको मात्र विश्वासले नपुगेर मलाई पार्टीको जिम्मेवारी सम्हाल्ने यात्रामा अझ धेरै साथीहरूको भरोसा जित्न आवश्यक रहेको यस मत परिणामले देखाएको छ ।’

उनले राजनीति लाभ र पदका लागि नगरेको उल्लेख गर्दै अहिलेसम्म प्राप्त माया र विश्वास नै आफ्नो उपलब्धि भएको बताएका छन् ।

आगामी राजनीतिक यात्रामा विश्वास जित्न बाँकी रहेका साथीहरूको भरोसा हासिल गर्न आफ्नो चेतना, लगाव र समय खर्चने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।