एक हजार ४० किलो ४४० ग्राम गाँजा सहित एक युवक पक्राउ


उदयपुर । प्रहरीले उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा सहित ओसारपसारमा प्रयोग भएको एउटा बोलेरो गाडी र एक युवकलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार-बेल्टार भित्री सडकखण्डबाट प्रहरीले ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको हो।

आइतबार राति २ बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पार्किङ गरी राखिएको बा१४च २२५५ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा २९ वटा बोरामा राखिएको गाँजा फेला पारेको थियो।

त्यस्तै, कटारी नगरपालिका ६ स्थित सागुरी पुलनजिकैको जंगलबाट प्रहरीले थप १०० किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कटारीबाट आइतबार राति १०ः२० बजे खटिएको प्रहरी टोलीले पाँचवटा बोरामा राखिएको गाँजासहित ताप्ली गाउँपालिका २ का करिब २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा राईलाई पक्राउ गरिएको हो। उक्त घटनामा संलग्न अन्य व्यक्तिहरू भने फरार रहेका छन्।

दुवै घटनामा बरामद गरिएको गाँजाको कुल तौल १०४० किलो ४४० ग्राम रहेको छ। गाँजा ओसारपसारमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ भने बोलेरो गाडीसहित गाँजा बरामद भएको घटनाबारे पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।